वान बेल्ट वान रोड परियोजनामा के चाहन्छ मधेस ?

काठमाडौँ- चीनका राष्ट्रपति सी जिनपिङको निकै महत्त्वाकाङ्क्षी परियोजना वान बेल्ट वान रोडको चर्चा विश्वमै चलिरहेको छ । यो एसिया तथा युरोपसँग सडक सञ्जाल जोड्ने चीनको सबैभन्दा ठूलो लगानी भएको परियोजना हो ।

यो परियोजनामा नेपालले पनि सहभागिता जनाइसकेको छ । यस परियोजनाका लागि नेपाल र चीन*बीच २०७४ वैशाख २९ गते एक सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

हस्ताक्षर भएसँगै यो परियोजनाको बारेमा नेपालमा छलफल सुरु भएको छ । नेपालमा रहेका परियोजनाबारे छलफल भइरहँदा मधेसले चासो लिएको र मधेसलाई कहाँ राखिएको छ भनी सोधखोज सुरु भएको छ ।
तर पत्रकार चन्द्रकिशोर भन्छन्, ‘मधेसमा चीनका बारेमा अध्ययनकै कमी छ, ओबीओआरको चर्चा कहाँबाट हुन्छ ?’

वास्तवमा मधेसीलाई यूपी र विहारका बारेमा राम्रोसँग थाह छैन भने चीनका बारेमा जानकारी नहुनु नौलो कुरा नभएको बताउँदै उनले वान बेल्ट वान रोड चीनको महत्त्वाकाङ्क्षी परियोजना भए पनि यो भावनात्मक रूपमा नआएको बताए ।

उनले भने,’ यो परियोजना पूरै व्यावसायिक रूपमा आएको हो, त्यो पनि क्रुर व्यावसायिक । तर यो परियोजनामा नेपाल कसरी सहभागी हुन्छ, त्यसमा भर पर्ने कुरा हो ।’

प्राध्यापक डा. सुरेन्द्र लाभले ओबीओआर नेपालका लागि विवादस्पद परियोजना रहेको दाबी गरे । यो परियोजनाप्रति नेपाल सकारात्मक देखिए पनि भारत नकारात्मक देखिएको छ, त्यसैले नेपालमा यो परियोजना विवादमा पर्न सक्ने उनले सङ्केत गरे ।
मधेस नेपालको एउटा भूभाग हो, यसलाई मधेसको नजरले हेर्नुभन्दा पनि काठमाडौँले के गरिरहेको छ, त्यो कुरा पहिला आउनुपर्ने बताउँदै पत्रकार चन्द्रकिशोरले काठमाडौँ स्पष्ट भएपछि मात्र मधेसको बारेमा कुरा गर्न सकिने बताए। यद्यपि मधेसमा पनि यो परियोजनाको बारेमा छलफल हुनुपर्ने उनले बताए ।

पूर्वराजदूत विजयकान्त कर्णले पनि यो परियोजनाका बारेमा नेपाल स्पष्ट नरहेको दाबी गरे ।

उनले भने, चीनको यो परियोजनामा नेपालले कसरी काम गर्छ ? यो परियोजनाअन्तर्गत नेपालको के–के परेको छ ? यो परियोजनामा नेपालले कुन शर्तमा हस्ताक्षर गरेको छ ? केही कुरा स्पष्ट भएको छैन भने मधेसको कुरा कसरी गर्न सकिन्छ ।’

यो परियोजना अन्तर्गत नेपालले ३५ वटा प्राजेक्टका लागि हस्ताक्षर गरेको कुरा सञ्चार माध्यममार्फत थाह पाएको बताउँदै उनले ती ३५ वटा प्रोजेक्ट के–के हुन्, त्यो कुरा फेला पार्न नसकेको बताए ।

प्राध्यापक डा. सुरेन्द्र लाभले ओबीओआर नेपालका लागि विवादस्पद परियोजना रहेको दाबी गरे । यो परियोजनाप्रति नेपाल सकारात्मक देखिए पनि भारत नकारात्मक देखिएको छ, त्यसैले नेपालमा यो परियोजना विवादमा पर्न सक्ने उनले सङ्केत गरे ।

मधेसमा त झन यो परियोजना सुरु गर्न पनि अप्ठ्यारो हुने उनको तर्क थियो । उनले भने, खासगरी यो परियोजना मधेसमा सञ्चालन भयो भने भारतका कारण प्रभावमा पर्नसक्छ । चीनको यो परियोजनाबाट नेपाल कति फाइदा लिनसक्छ, त्यसमा भर पर्छ ।’

मधेस पनि नेपालकै एउटा भूभाग भएका हुनाले समग्र नेपालको विकास भयो भने मधेसको पनि विकास हुन्छ तर पहिलो कुरा नेपाल यस परियोजनाको बारेमा स्पष्ट हुन जरुरी रहेको उनले बताए ।

अर्का राजनीतिक विश्लेषक जयनिशान्तले चीनको यो महत्त्वकाङ्क्षी परियोजनामा नेपाल प्राथमिकतामा परेको छैन भने मधेसको कुरा निकै टाढा रहेको टिप्पणी गरे ।

नेपालले पनि सहमति जनाएको हो यो सकारात्मक कुरा हो तर चीनका लागि नेपालभन्दा पनि भारत मुख्य प्राथमिकताको विषय रहेको उनको दाबी छ । चीन नेपालमार्फत भारतमा छिर्न चाहन्छ, उनले भने, खासगरी नेपाल हुँदै चीनको टर्गेटमा भारतको विहार र यूपी रहेको छ । नेपालमार्फत भारतको यूपी र विहारमा आफ्नो बजार विस्तार गर्न चाहेको छ ।’

नेपालले चीनसँग ऋण लिएर यो परियोजनामा सहभागी हुन चाहेको छ भने त्यो गलत रहेको बताउँदै उनले आफ्नो पैसा खर्च गरेर चीनको यो परियोजनामा सहभागी हुनु बुद्धिमानी हुँदैन । यदि चीनले अनुदानमा कुनै काम दिन चाहेको छ भने त्यसमा सहभागी हुन उनले सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *