बेलायतमा मुद्दा खेपिरहेको महासेनानी कुमार लामालाई सामाजिक न्याय तथा मानवअधिकार समितिले नेपाल ल्याएर यहीको कानून अनुसार सत्य निरुपण आयोग तथा मेलमिलाप आयोग अर्न्तगत नै छानविन प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ। शुक्रबार बसेको समितिको बैठकमा सभापति सुशीलकुमार श्रेष्ठले सरकारलाई यस्तो निर्देशन दिएका हुन्। समितिले नेपाल सरकार, रक्षा, परराष्ट्र मन्त्रालयलाई कुटनीतिक पहल गरी नेपाल फर्काउन अबिलम्ब प्रयास गरोस् भन्ने निर्देशन दिएको हो।
![]()
बैठकमा कानुन मन्त्री नरहरी आचार्यले बेलायतमा मुद्दा खेपिरहेको महासेनानी कुमार लामाको विषयमा समितिका सदस्यहरुले उठाएको विषयमा सरकारले अहिलेसम्म गरेको पहल र प्रयत्नबारे जानकारी गराएका थिए। नेपालले यो विषयलाई अत्यन्त गम्भीर रुपमा लिए भन्दै हिजोको द्वन्द्वकालमा घटेका घटनाबारे कानून बनाएर आयोगले काम अघि बढाएको जानकारी गराए।
संसदको समितिले गरेको पहलले सरकारलाई मद्दत पुगेको भन्दै उनले सरकार इमान्दारीताका साथ आफ्नो सामार्थ्य र पहुँचका आधारमा काम गरिरहेको बताए। अन्तर्राष्ट्रिय मापदण्डमा अन्तर्राष्ट्रिय तहमा एउटै आधारमा कार्यान्वयन नभएको भन्दै उनले आफूहरूले हैसियत अनुसार सरकारले यसलाई गम्भिरता साथ लिएको बताए।
मन्त्री आचार्यले लामाको विषयमा नेपालमा दिर्घकालिन शान्ति र मेलमिलाप स्थापन गर्दै दण्डहिनतालाई अन्त्य गर्ने प्रयत्न अनुरूप ऐन बनाएर आयोग गठन भएको बताए। उनले भने,‘यो सरकार बनेपछि तत्परताका साथ कानून बनाई ९३ प्रतिशत बढी सभासदले समर्थन गरी पारित भएको कानून हो। त्यसको आधारमा आयोग बनी काम सुरू भइसकेको छ। नेपालको न्याय प्रणालीमा अदालतले केही प्रश्न उठाएको छ। हामी अदालतको सम्मान गर्छौ। तर, नेपालको विषयमा नेपालले नै अन्वेषण र छानबिन गर्नुपर्छ।’ मन्त्री आचार्यले अन्तर्राष्ट्रिय समुदायले पनि यस विषयमा सहयोग गर्नुपर्ने धारणा राखेका छन्।






