जुम्लामा हिउँमा फसेका १४ जना गाउँ फर्किए

काठमाण्डौ – जुम्लामा हिउँमा फसेका १४ जना घर फर्किएका छन् । जिल्लाको पाटनमा जडीबुटी खोज्न जाँदा हिउँमा फसेका ३४/३५ जनामध्ये अहिलेसम्म १४ जना फर्किएको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईँले जानकारी दिए ।

जडिबुटी खोज्न गएकै बेला बिहिबार बाक्लो हिँउपरेपछि फसेका उनीहरु घाम लागेर हिउँ पग्लिएपछि फर्किएका हुन् । बाँकी केही आज फर्किने तयारीमा रहेका छन् ।

भेडा तथा जडीबुटी समेत खोजिरहेका केहिले भने तत्काल फर्कने इच्छा नदेखाएका जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । उनीहरु तातोपानी गाउँपालिका वडा नम्बर ८ मा रहेको गाग्रा, ऐडी ओडार र खोटेसल्लामा बसेका छन् ।

बाक्लो हिमपातपछि उद्धारका लागि गएको हेलिकप्टर अवतरण हुन नसकेपछि खाद्यान्न खसालेर फर्किएको थियो ।