काठमाडौं– सरकारले सरकारी कामकाजमा मात्रै कूटनीतिक राहदानी प्रयोग गर्न सांसदहरुलाई पुनः आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले सरकारी कामकाजमा मात्रै कूटनीतिक राहदानी प्रयोग गर्न सांसदहरुलाई पुनः आग्रह गरेका हुन् ।
प्रतिनिधिसभा अन्तराष्ट्रिय सम्बन्ध समितिको मंगलबारको बैठकमा ‘राहदानीसम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको बिधेयक, २०७५’ माथिको छलफलमा भाग लिँदै उनले कूटनीतिक राहदानी दुरुपयोग भएको विगतको अनुभवलाई ध्यानमा राखेर विधेयकमा सरकारी प्रयोजनका लागि सांसदहरुले कूटनीतिक राहदानी प्रयोग गर्न पाउने प्रावधान राखिएको पनि स्पष्ट पारे ।
सचिव बैरागीले कूटनीतिक राहदानी सांसदहरुले दुरुपयोग गरेको घटना अन्य देशमा सांसदहरु पुगेपछि आउने गरेको उल्लेख गर्दै त्यस्ता गतिविधिलाई नियन्त्रण गर्ने दायित्व राज्यको रहेको पनि स्पष्ट पारे । उनले सार्वजनिक पदधारण गरेका व्यक्तिहरुलाई कूटनीतिक राहहानी प्रयोगमा विभेद नगरिएको दावी समेत गरे ।
बैठकमा समितिका सदस्यहरुले सांसदहरुलाई अप्ठयारो पार्ने गरी कूटनीतिक राहदानी उपलब्ध गराउने व्यवस्था नगर्न सरकारलाई सचेत गराएका थिए । समितिका सदस्य दिव्यमणि राजभण्डारीले सांसदहरुलाई सहज ढंगले कूटनीतिक राहदानी दिने व्यवस्था गर्न माग गरे ।
समितिका अर्का सदस्य अग्नीप्रसाद सापकोटाले कूटनीतिक राहदानी जनताका प्रतिनिधिहरुलाई स्वतन्त्रतापूर्वक उपयोग गर्न पाउने व्यवस्था गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए । उनले जनताको विश्वास जितेर आएका जनप्रतिनिधिहरुलाई राहदानी दिन सरकारको अनुमति लिनुपर्ने व्यवस्था गर्न नहुने तर्क पनि गरे ।
विधेयकमा सांसदहरुले कूटनीतिक राहदानी प्रयोग गर्दा सरकारको अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । कूटनीतिक राहदानी दुरुपयोग हुन नदिन सांसदहरुलाई पनि अनुमति लिएर मात्रै कूटनीतिक राहदानी प्रयोग गर्न पाउने कानुनी व्यवस्था गर्न लागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।






