अमेरिकी राजदूतले ओलीलाई सोधिन्, ‘निर्वाचन गर्न एमालेको भूमिका के हुन्छ ?’

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदूत अलाइना बी तेप्लिजले भेटवार्ता गरेकी छिन् । अमेरिकी राजदूत तेप्लिजले बुधबार सिंहदरबारस्थित एमालेको संसदीय दलको कार्यालयमा पुगेर ओलीसँग भेटवार्ता गरेकी हुन् ।
करिब आधा घण्टा लामो भेटवार्ता सरकार परिवर्तन र संविधान कार्यान्वयनका विषयमा केन्द्रीत रहेको एमालेले जनाएको छ । अमेरिकी राजदूत तेप्लजले संविधानले परिकल्पना गरेको तीन तहको निर्वाचन गर्नका लागि डेढ वर्ष मात्रै रहेको अवस्थामा एमालेको भूमिका कस्तो हुन्छ ? भनेर जिज्ञासा राखेकी थिइन् ।
जवाफमा एमाले अध्यक्ष ओलीले आफूले सरकारको नेतृत्वमा रहको बेला नै संविधान कार्यान्वयनको कार्ययोजना सार्वजनिक गरेको स्मरण गराउँदै अहिलेको अवस्थामा संविधान कार्यान्वयन एमालेको पहिलो प्राथमिकता भएको बताएका थिए । अमेरिकी राजदूतले यसअघि कांग्रेस सभापति शेरबहादुर देउवालाई उनको निवासमा पुगेर भेट गरेकी थिइन् ।