शिब भण्डारी
लण्डन । गोर्खा सत्याग्रह संघर्ष समितिले बेलायत सरकारसँग भूपू गोर्खाहरुलाई समान पेन्सन र समान अधिकारको लागि लामो समयदेखि गरिरहेको आन्दोलनबाट प्राप्त भएका र प्रतिबद्धता भएका अधिकार उपलब्धिहरुको बारेमा जानकारी गराएको छ । 
अल्डरशटको एम्पायर हलमा शनिवार भएको विशेष कार्यक्रममा गोर्खा अभियन्ताहरुले सम्बोधन गरेका थिए । सभामा गोर्खा सत्याग्रह संघर्ष समितिका साहसी अभियन्ताहरु क्रमशः ज्ञानराज राई, धनबहादुर गुरुङ र श्रीमती पुष्पा राणा घले समितिका संयोजक कृष्ण बहादुर राई, प्रवक्ता मे. जुद्ध बहादुर गुरुङ,एनआरएनए अध्यक्ष प्रेम गाहा मगर,नागरिकता निरन्तरता यूकेका अध्यक्ष थर्क राना, नागरिक निरन्तरता यूके नेपाल संयोजक सन्तोष थलग, गेसोका बरिष्ठ उपाध्यक्ष भक्त गुरुङ,एन आरएन यूके पूर्ब उपाध्यक्ष रोजिना प्रधान राई, सल्लाहकार दिपक मास्के, नेसाका महासचिव तर्क गुरुङ, मिडिया संयोजक यम बहादुर गुरुङ, कोषाध्यक्ष देवी लिम्बूले सम्बोधन गरेका थिए ।

गोर्खा सत्याग्रह संघर्ष समिति यूके महासचिव शैन्द्र थापाले संचालन गरेको कार्यक्रममा महिला उपाध्यक्ष पदमसरी राईको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रमको अध्यक्षता एरिया सभापति तथा केन्द्रीय सहसचिव होम किराँत सुनुवारले गरेका थिए । कार्यक्रममा सम्बोधन गर्दै प्रवक्ता मे. जुद्ध बहादुर गुरुङले निरन्तर रुपमा आन्दोलन गर्दै हालसम्म धेरै कठिनाइ भोग्दै आएको सुनाए । हाल माग सम्बोधन गर्न बेलायत सरकारले थालेको कदम पहिलो र ठूलो कदम रहेको भन्दै यो भन्दा अझै बढी गर्न बाँकी रहेको बताए ।
गोर्खा सत्याग्रहका प्रमुख संयोजक कृष्णबहादुर राईले यो आन्दोलन गोर्खालीको मात्र नभएर समग्र नेपाल राष्ट्रको भएको बताए । उनले गोर्खा सत्याग्रह संघर्ष समितिले कूटनीतिक पहल नचाहने घोषणा गर्दै उनले आफूहरुलाई वचन नभएर हातमा अधिकार चाहिएको बताए । धेरै बर्ष देखि कूटनीतिक पहल भनेको मात्र सुनेको भन्दै अब ती कूटनीतिक पहलका भाषणहरुले नपुग्ने बताए । उनले भने, ‘अब हामी सिद्धिएपछि कूटनैतिक पहलले के हुन्छ ? यो गोर्खाको आन्दोलन होइन, यो राष्ट्रको आन्दोलन हो, यो देशको आन्दोलन हो ।’ उनले अब आफ्ना मागहरु सम्बोधन हुनेमा अझै पनि शंका रहेको भन्दै अधिकार हातमा नआएसम्म लडिरहने बताएका थिए ।
त्यस्तै एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगरले गोर्खाहरु भेदभावमा परेको भन्दै एनआरएनए बेलायत सधै तत्पर रहेको घोषणा गरे । त्यस्तै अभियानका सचिव तथा भोक हड्ताल बसेका धन गुरुङले व्रिटिश सरकारले गोर्खालीहरुलाई २०७ बर्षदेखि अन्याय गरेको, ३२ बर्षदेखि गोर्खालीहरुले आन्दोलन गरेपनि हालसम्म सम्बोधन हुन नसकेको दुखेसो पोखे । सबैले ‘तँ रानी म रानी’ भन्ने गरेको तर ‘पानी’ ल्याउने काम कसैले नगरेको बताउँदै उनले च्याउ जस्तै उम्रिएका संस्थाहरुले पनि केही गर्न नसकेको बताए । यदि आन्दोलन शुरू गरेको केही बर्ष भित्रै ठोस कदम उठाउन सकेको भए ३२ बर्ष नलाग्ने उनले बताए ।

त्यस्तै दुई हप्तासम्म भोक हड्ताल गरेकी साहसी महिला पुष्पा घलेले आफ्नी ८७ बर्षकी आमा रुँदै ‘जितेर आउनू’ भन्ने आर्शिवाद दिएको र त्यही आर्शिवादले भोकै बस्न साहस मिलेको अनुभव सुनाइन् । २०७ बर्षदेखि भएको अन्यायलाई अन्त्य गर्नको निम्ती आफूहरु लडिरहेको भन्दै त्यसमा ३ करोड नेपालीहरुको समर्थन रहेको समेत बताइन् ।

आन्दोलनका अभियन्ता तथा १३ दिन भोक अनशन बसेका अभियन्ता ज्ञानराज राईले ‘गोर्खालीहरुको न्याय दिलाउँदै’, ‘राष्ट्रको इज्जल बलियो’ बनाउँदै भोक हड्तालमा बसेको र आफ्नो जीवन बचाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले आफूहरुले आन्दोलन गरेको अन्याय भएकोमा न्याय पाउनु मात्रै नभएर बेलायतको लागि लडेर आमा बाबु गुमाएका छोराछोरीहरु, श्रीमान गुमाएका महिलाहरुलाई ‘अपनत्व’ दिलाउनको निम्ती पनि रहेको बताए । उनले मागहरु अझै पनि सम्बोधन नभएको खण्डमा प्रधानमन्त्री कार्यालय अघि तीन जना फेरी अनशन बसेर ‘देहत्याग’ गर्न तयार रहेको घोषणा गरे । अगष्टमा महिनामा अभियन्ताहरु ज्ञानराज राई, धन गुरुङ र पुष्पा घलेले संघर्ष समितिको तर्फबाट १३ दिने भोक हड्ताल गरेका थिए ।

हड्तालको १३ औँ दिनमा रक्षामन्त्री सहितको टोलीले जुस खुवाएर अनशन तोडाइएको थियो भने एक महिना भित्रमा मागहरु सम्बोधनको काम अघि बढाउने बताइएको थियो । यस विषयमा बेलायत सरकार, लण्डनमा रहेको नेपाली दूतावास, संघर्ष समिति तथा एनआरएनए यूकेवीच छलफल तथा समन्वय भइरहेको छ । यी विषयमा भएका प्रगतिहरुको बारेमा जानकारी गराउन र नेपाल र बेलायत सरकारको ध्यानाकर्षण समेत गराउने उद्धेश्यले उक्त कार्यक्रम आयोजना गरिएको गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले लण्डन नेपाल न्यूजलाई बताए ।

त्यस्तै सचिव धन गुरुङले आफूहरुले १३ दिनसम्म अनशन बसेपछि सरकारले गरेको प्रतिबद्धता पालना गराउने गरी अघि बढेको लण्डन नेपाल न्यूजलाई बताए । त्यस्तै अनशन बसेकी अर्की अभियन्ता पुष्पा घलेले सरकारबाट आफूलाई अधिकार स्थापित गर्नको निम्ती निरन्तर लडिरहने बताइन् ।

आमरण अनसन बसेका अरु दुई गोर्खा सैनिकहरु ज्ञानराज राई र धनबहादुर गुरुङसँग शुरुवातदेखि अन्त्यसम्म अविचलित रही पुष्पा राणा घलेले गोर्खा महिला पनि कमजोर छैनन् भन्ने साबित गरेकी छिन् । बेलायती प्रधानमन्त्री कार्यालयअघि १३ दिन आमरण अनसन बस्ने साहसी नेपाली महिलाको रुपमा उनले पहिचान स्थापित गरेकी छिन् ।

आन्दोलनलाई ऐतिहासिक रुपमा सफल बनाउन आ-आफ्नो ठाउँबाट योगदान पुर्याउने बेलायत स्थित नेपाली संघ संस्थाहरु, ब्यक्ति बिशेष, संचारकर्मी, बौद्धिक जगत, न्यायकर्मी, उद्यमी, ब्यवसायी, ब्रिटिश भेट्रान संघ संस्था, न्यायप्रेमी बेलायती नागरिकहरु, संचारजगत साथै आन्दोलनलाई ब्यवस्थापन गर्न अहोरात्र सक्रिय भूमिका निर्वाह गर्ने गोरखा सत्याग्रहका पदाधिकारी तथा सदस्यहरु, सल्लाहकारहरु लगायत गोरखा भान्जा भान्जीहरुप्रति “गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति” आभार ब्यक्त गरेको छ।

अन्तिम निर्णायक आन्दोलनका लागि २१ जुलाई २०२१ बाट सत्र दिने रिले अनशन सम्पन्न गरे पश्चात ०७ अगष्ट २०२१ बाट शुरू भएको अनशन गोर्खा मागका सम्बन्धमा बेलायत सरकारले नेपाल सरकार र गोर्खा प्रतिनिधिसँग वार्ता गरी उनीहरूका समस्या समाधान गर्ने लिखित प्रतिवद्धता जनाए पछि बेलायती रक्षा राज्यमन्त्री लियो डोचेर्टी, बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी लगायत अनशनस्थल पुगेर १३ औँ दिनमा अनशन तोडिएको थियो ।नेपाल र बेलायत सरकारबीच गोरखाहरु समेतको सहभागितामा डिसेम्बरमा वार्ता हुँदैछ ।उक्त सम्बोधन कार्यक्रम लण्डन नेपाल न्यूजले प्रत्यक्ष प्रशारण गरेको थियो ।कार्यक्रमको पुरा लाइभ भिडियो हेर्नुहोस् :
https://www.facebook.com/londonnepalnews/videos/220851340014558






