लन्डन– दैनिक विभिन्न सांगीतिक कार्यक्रम भइरहेको लन्डनमा आइतबार फरक खालको कार्यक्रम भयो ।
लन्डनको साउथ ह्यारोस्थित ह्यारो बरो फुटबल क्लबमा मोती जयन्तीको अवसरमा एनआरएन यूकेको भाषा साहित्य लन्डन गजल साँझ २०१८ भएको हो ।
कार्यक्रमको मुख्य आकर्षण थिए अहिलेका चर्चित नेपाली गजल गायक राज सिग्देल । उनले एक दर्जन गजलहरु गाएर उपस्थित श्रोताहरुलाई मन्त्रमुग्ध बनाए । आफ्ना बहुचर्चित गजलहरु उ जितेर गई, च्वास्स घोच्ने तिम्रो माया देखि नारायणगोपालको यति चोखो यति मिठो, अरुणा लामाको सोंचे जस्तो हुन्न जीवन सम्मका सुमधुर गीतहरु सिग्देलले सुनाएका थिए ।
कार्यक्रममा बेलायतमै बस्दै आएकी गायिका शर्मिला बर्देवा, गायक प्रमोदराज न्यौपाने, रवि प्राञ्जलले पनि केहि गजलहरु प्रस्तुत गरेर कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाए । कार्यक्रममा बेलायतबासी सर्जकहरु सञ्जिता देउजा, शशी थापा सुब्बा, नृपेश उप्रेती, सुमलकुमार गुरुङ , डा रुपक श्रेष्ठ, दुर्गाप्रसाद पोखरेल र रेखा खरेलले प्रस्तुत गरेका गजलहरु पनि श्रोताहरुले खुबै मन पराएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले आफ्नो मन्तव्य राख्दै नेपाली साहित्यमा गजल लेखनको सुरुआतदेखि वर्तमानसम्म आइपुग्दाका उतार, चढाव र श्रृंखलाबद्ध विकासक्रमहरुको फेहरिस्त सुनाए । कार्यक्रमको सुरुमा कार्यक्रमका प्रमुख अतिथि राजदूत डा सुवेदी, विशेष अतिथिद्वय एनआरएन आइसिसी उपाध्यक्ष कुल आचार्य र एनआरएन यूके अध्यक्ष योगकुमार फगामी, कार्यक्रमका सभापति तथा संयोजक कृष्ण भट्ट लगायतले मोतिराम भट्टको तस्विरमा माल्यार्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन एनआरएन यूके भाषा साहित्य विभाग संयोजक नारायण गाउँलेले गरेका थिए । यो कार्यक्रमको संयोजन कृष्ण भट्ट, नारायण गाउंले, नृपेश उप्रेती, कृष्ण तिवारी र लक्ष्मी राई (लारा)सहित ५ जनाको समुहले गरेको हो ।तस्बिर एभरेष्ट गौतम






