काठमाडौं– सत्तारुढ संघीय समाजवादी फोरम, नेपालकी सांसद प्रमिला कुमारीले आफू राष्ट्रिय सभाबाटै पीडित भएको गुनासो गरेकी छन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद कुमारीले राष्ट्रियसभाका अन्य सांसदहरुले मन्त्रिपरिषदबाट निर्णय गराएर विभिन्न सुविधा लिएपछि आफूले नपाएको गुनासो गरेकी हुन् ।
संघीय समाजवादी फोरम, नेपालको राष्ट्रियसभामा आफू दलको नेता भएपनि राष्ट्रियसभाले आफूलाई पाउने सुविधाबाट बञ्चित गराएको सांसद कुमारीको दावी छ । सांसद कुमारीले मधेशी भएकै कारण आफूलाई पाउने सुविधाबाट बञ्चित गराएको हुनसक्ने आशंका पनि व्यक्त गरेकी छन् । उनले सरकारले मधेशलाई हेप्ने काम गरिरहेको भन्दै आक्रोश पनि व्यक्त गरिन् ।
सांसद कुमारीले संविधान संशोधन गर्ने प्रतिबद्धता पूरा नगरेको भन्दै प्रधानमन्त्री केपी ओलीको पनि आलोचना गरिन् ।






