काठमाडौँ- संयुक्त विद्यार्थी समितिले गतवर्ष भूकम्पमा परी जीवन गुमाएकाको सम्झनामा प्रदर्शनी मार्गमा आज साँझ श्रद्धाञ्जलि तथा दीप प्रज्वलन गरेको छ ।
नेकपा (एमाले) निकट अनेरास्ववियु, नेपाली काँग्रेस निकट नेवि सङ्घ, एनेकपा (माओवादी) निकट अखिल क्रान्तिकारीलगायत १३ विद्यार्थी सङ्गठन आबद्ध समितिले गएको वर्ष वैशाख १२ पछिका भूकम्पमा परी दिवङ्गत भएकाको आत्माको शान्तिका लागि कार्यक्रम गरेको हो ।
अनेरास्ववियुका उपाध्यक्ष महेश वर्तौलाले भूकम्पपछि विगतमा गरेको उद्धार तथा पुनःनिर्माणमा संयुक्त विद्यार्थी समितिले निर्वाह गरेको भूमिकाको सराहना गर्दै आगामी दिनमा समेत क्षतिग्रस्त ठाउँमा एकजुट भई लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विद्यार्थी नेता आरसी लामिछानेले भूकम्प गएको एक वर्ष बितिसक्दासमेत पीडित तथा घरवारविहीनलाई आवश्यक सहयोग सरकारले गर्न नसकेकोमा चिन्ता व्यक्त गर्दै पुनःनिर्माणको कार्य चाँडो अगाडि बढाउन सम्पूर्ण विद्यार्थी सङ्घ सङ्गठनका तर्फबाट आग्रह गर्नुभयो ।






