बेलायती विश्वविद्यालयका कोर्स नेपालमा सञ्चालन गर्दाका अनुभव

लण्डन । नेपालको शिक्षा क्षेत्रमा रहेका अवसरहरुका विषयमा लण्डनमा एक सेमिनार सम्पन्न भएको छ । नेपालका लागि बेलायती राजदूत रिचर्ड मोरिसले ब्रिटेन नेपाल चेम्बर अफ कमर्ससंगको सहकार्यमा सोमबार यो सेमिनार आयोजना गरेका हुन् । सेमिनारमा नेपालको शिक्षा क्षेत्रमा सेवा बिस्तार गरिसकेका तथा भविष्यमा गर्न चाहने बेलायती एजुकेसन प्रोभाइडरहरु, शिक्षा क्षेत्रसंग सम्बन्धित विज्ञ, प्रोफेसर लगायतको सहभागिता थियो ।

त्यसअवसरमा नेपालका लागि बेलायती राजदूत मोरिसले नेपालको पछिल्लो राजनीतिक तथा आर्थिक विकासक्रमको चर्चा गर्दै स्थिर सरकारको निर्माणसंगै ईच्छुक लगानीकर्ताहरुको लागि नेपालमा थप सहज वातावरण बनेको धारणा राखे । नेपाल सरकारका अधिकारीहरुसंगको भेटमा उनीहरु विदेशी लगानीमैत्री वातावरण निर्माणका लागि प्रतिबद्ध देखिएको उनले बताए । ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष तथा काठमाडौंस्थित द ब्रिटिश कलेजका सिईओ राजन कंडेलले नेपालमा बेलायती विश्वविद्यालयका कोर्सहरु सञ्चालन गर्दाका अनुभवहरु सुनाए ।

नेपालमा बेलायती पाठ्यक्रम पढाउने अर्को नयां कलेज स्थापना गर्न लागेका कंडेलले नेपालमा बेलायती एजुकेसन प्रोभाइडरहरुका लागि रहेका अवसरहरुबारे पनि जानकारी गराए ।

त्यसअवसरमा केपिएमजी इण्डियाकी स्नेहा जोसेफले नेपालको शिक्षा क्षेत्रबारेको एक रिपोर्ट प्रस्तुत गर्दै बेलायती एजुकेसन प्रोभाइडरुहरुका लागि सम्भाव्य मार्केटको बारेमा जानकारी दिइन् । स्कटल्याण्डको राष्ट्रिय अवार्डिङ निकाय एसक्युएकी प्रतिनिधी एसलिङ केलीले बेलायत तथा नेपालको शिक्षा क्षेत्रकाबीचको सहकार्यबारे एक प्रिजेन्टेसन गरिन् । बेलायत तथा नेपालका शिक्षा क्षेत्रसंग निकट कार्यक्रमका सहभागीहरुले नेपालमा बेलायती एजुकेसन प्रोभाइडरहरुका लागि रहेका अवसरहरुबारे अन्तरक्रियात्मक छलफल समेत गरेका थिए ।