लण्डन । वेलायतमा तीन साताका लागि ‘लकडाउन’ थप गरिएको छ।कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लगाएको लकडाउन थप तीन साता लम्ब्याएको हो ।
बेलायतका सहायक प्रधानमन्त्री तथा विदेशमन्त्री डोमिनिक राबले बिहीबार मुलुकमा लगाइएको लकडाउन तीन साता लम्ब्याउने घोषणा गरेका हुन् ।
बिहीबार प्रधानमन्त्री कार्यालयको नियमित समाचार ब्रिफिङमा राबले कम्तीमा आगामी तीन सातासम्म लकडाउन जारी रहने बताएका हुन् । अहिलेको अवस्थामा लकडाउन खुकुलो पार्दा सार्वजनिक स्वास्थ्यका साथै मुलुकको अर्थतन्त्र समस्यामा पर्ने उनले बताए।
बेलायतमा कोरोना भाइरसका नयाँ संक्रमित र मृतकको संख्या निरन्तर बढिरहेको छ। पछिल्लो २४ घण्टामा आठ सय ६१ जना मानिसको कोरोना भाइरसको कारण मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ हजार सात सय २९ पुगेको छ ।
गत साता विश्व स्वास्थ्य संगठनले सबै प्रभावित देशहरुलाइ हतारमा लकडाउन नखोल्न आव्हान समेत गरेको थियो।






