अग्लो पर्खाल नलाउनुस् : सरकारले भत्काउला

काठमाडौं ८, फागुन। घर वा व्यापारिक भवनमा अग्गो पर्खाल लगाउँदै हुनुहुन्छ भने, खर्च नगर्नुस । अब सरकारले निजी घरका समेत अग्ला कम्पाउण्ड पर्खालहरु भत्काउदैछ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सबै नगरपालिकाहरुलाई अग्ला कम्पाउण्ड पर्खालहरु भत्काउन वा हटाउन निर्देशन जारी गरिसकेको छ ।

घर तथा भवनको सुरक्षाका लागि ठूला पर्खाल लगाइए पनि तीनै पर्खाल भूकम्पको बेला मानिसको काल बन्ने देखिएकाले ठूला पर्खालमा बन्देज लगाउन थालिएको हो ।

अग्ला पर्खाल किन घातक ?

भूकम्प लगायतका प्राकृतिक विपत्तिका बेला अग्ला पर्खाल भत्किएर जनधनको बढि क्षति भएको पाइएपछि सरकारले सुरक्षाको पूर्व तयारीका लागि पर्खाल हटाउने अभियान चलाउन लागेको हो ।

‘हालसम्मका भूकम्पले पुर्‍याएका क्षतिको अध्ययन गर्दा अग्ला पर्खाल भत्किएका कारण धेरै दुःखद घटना भएको पाइयो’ स्थानीय विकास मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराई भने ‘अन्य दैवी विपत्तिमा पनि पर्खालबाट क्षति भएको देखियो’ ।

कहाँ कहाँ भत्काउने ?

आकस्मिक रुपमा हुन सक्ने विपत्तिका बेला अग्ला पर्खाल भत्किएर क्षति नहोस भन्ने उद्देश्यले सरकारले सरकारी कार्यालय, ब्यापारिक भवन, तथा अन्य सार्वजनिक स्थानका पर्खाल हटाउन थाल्ने भएको हो ।

व्यापारिक भवन, सरकारी कार्यालय, शैक्षिक संस्था र निजी घर तथा सार्वजनिक भवनहरुका अग्ला कम्पाउण्ड पर्खाल हटाउन सूचित गर्ने मन्त्रालयले जारी गरेको निर्देशनमा उल्लेख छ ।

मन्त्रालयले नगरपालिका तथा नगर विकास समितिहरुलाई कम्पाउण्ड वाल अनुगमन गर्न र नियमन गर्न पनि निर्देशन दिएको छ ।

घर तथा ठूला व्यवसायिक भवनका पर्खालमात्र होइन सडक छेउछाउका अग्ला पर्खाल झन् जोखिमपूर्ण रहेको निष्कर्ष मन्त्रालयले निकालेको छ । ‘कुनै पनि बेला त्यस्ता पर्खाल भत्किएर सडकमा हिडिरहेका वा गुडिरहेका मान्छेको जीवन जान सक्ने देखियो’ मन्त्रालयका एक अधिकारीले भने ।

दूतावासको पर्खाल ३ जनाको काल

२०६८ साल असोज १ गते गएको भूकम्पका कारण काठमाडौंको लैनचौरस्थित बेलायती दूतावासको पर्खाल भत्किदा तीन जनाको मृत्यु भएको थियो ।

त्यसपछि दूतावासले पर्खाल भत्काएको थियो । बेलायती दूतावास र भारतीय दूतावासको बीचमा अग्ला पर्खाल अझै कायम छन् ।

नारायणहिटी दरवार, सिंहदरवार लगायत पूराना संरचनाहरुमा पनि अग्ला पर्खाल कायम छन् । सरकारले तत्कालै ती लगायत विदेशी कुटनीतिक नियोगहरुका पर्खाल हटाउने तयारी गरेको छ ।

सिहदवार तथा त्यहाँभित्रका मन्त्रालयहरु, सबै सरकारी कार्यालय, दूतावास र अन्य व्वसायिक भवन जस्ता संवेदनशील स्थानका अग्ला पर्खाल तत्कालै हटाउन शुरु गर्ने तयारी भएको छ ।

मन्त्रालयले सम्बन्धित नगरपालिकाहरुमार्फत अब घर तथा व्यवसायिक भवनहरुको कम्पाउण्ड पर्खाल कति फिट अग्लो बनाउन पाउने भनेर अलग्गै निर्देशिका समेत तयार पारिसकेको छ ।यसैबीच मन्त्रालयको निर्देशनपछि उपत्यकामा रहेका सरकारी कार्यालयका अग्ला पर्खाल भत्काइएको छ । पर्खाल भत्काएर फलामे रेलिङ लगाउने कार्य सुरु भएको छ ।