खुशी लिम्बुले पत्रकारको निर्वाचनमा माइक खोसेपछि… (भिडियो सहित)

लन्डन । नेपाली जनसम्पर्क समिति युकेका प्रवक्ता, नेपाल आदिवासी जनजाति महासंघ युकेका महासचिव तथा नेपाल आदिवासी जनजाति महासंघ युकेका महासचिव खुशी लिम्बुले नेपाल पत्रकार महासंघ युके शाखाका नवनिर्वाचित महासचिव सञ्जयभक्त कँडेललाई हातपात गरेका छन् । गत शनिबार अल्डरसटमा भएको महासंघको चौथो अधिवेसन समाप्तिपछि लिम्बुले सम्मेलनस्थलमै कंडेलमाथि हातपात गरेको घटनाप्रति शाखाले एक विज्ञप्ति जारी गर्दै निन्दा सहित गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शाखा अध्यक्ष नरेश खपांगीमगरले मंगलबार एक विज्ञप्ति जारी गरि कुनै पनि विषयमा असहमति भए छलफल, सम्वाद, वार्ताबाट नै समाधान गर्न सकिने विकल्प हुँदाहुँदै राजनीतिक तथा सामाजिक जिम्मेवारीमा बसेको व्यक्ति यसरी शारीरिक आक्रमणमा नै उत्रिनु अत्यन्तै निन्दनीय कार्य भएको उल्लेख गरेका छन् ।

नेपाल पत्रकार महासंघ युकेले उक्त घृणित कार्यको भत्सना गर्दै सम्बन्धित संघसंस्थासँग निजमाथि आवश्यक कारबाही गर्नका लागि माग समेत गरेको छ । साथै, शाखाले निजमाथि अनुशासनको कारबाही अगाडि बढाएको समेत जानकारी गराएको छ ।

लिम्बुले निर्वाचन आयुक्त विजय थापाले नयां कार्यसमिति घोषणासभा गर्न लाग्दा माइक खोसेका थिए ।

लिम्बुको अशोभनीय कार्यको बोधार्थ नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, नेपाल आदिवासी जनजाति महासंघ युके, नेपाली जनसम्पर्क समिति, युके र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युकेलाई समेत पठाइएको छ ।

(लिम्बुले यसरी माइक खोसेका थिए—उनको भिडियो २८ मिनेटपछि छ)