काठमाडौं– राप्रपा प्रजातान्त्रिक निर्माणको क्रममा अबलम्बन गरिएको लक्ष्य बमोजिम संस्थागत परिपाटीको माग युवा पुस्ताले गरेका छन् ।
निर्वाचनको समीक्षा सहित स्पष्ट नीति र संगठनको बलमा पार्टी संरचनालाई देशव्यापी परिचालन गर्नु पर्ने भन्दै उनीहरुले शुक्रबार पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
सामूहिक भेटको क्रममा, निर्वाचन समीक्षा र आगामी कार्यदिशा तय गर्न केन्द्रीय समितिको वैठक बोलाउन केन्द्रीय सदस्यहरुले माग गरेका थिए । स्रोतका अनुसार, केन्द्रीय समिति वैठक माग गर्नेहरुमा दोस्रो पुस्ताका दर्जनौं केन्द्रीय सदस्यहरु छन् ।
सो क्रममा स्पष्ट सैद्धान्तिक धारको आधारमा संगठन निर्माणको चर्चा गर्दै, कि संवैधानिक राजतन्त्र कि गणतन्त्र, एक रोज्नु पर्ने सुझाव समेत केन्द्रीय सदस्यहरुले प्रस्तुत गरेका थिए ।
केन्द्रीय सदस्यहरुले अध्यक्ष पशुपति समशेर राणासमक्ष एक ज्ञापनपत्र बुझाउँदै राप्रपा प्रजातान्त्रिकलाई सशक्त उदारसम्वद्र्धनवादी पार्टीको रुपमा स्थापित गर्न सक्रियताका साथ अघि बढ्न तयार रहेको धारणा प्रकट गरेका थिए । पार्टी हितमा नेतृत्वलाई पूर्ण सहयोग गर्ने अभिमत जाहेर गरेका थिए ।
पार्टीको भविष्यलाई लिएर कार्यकर्तापंक्तिबीच उत्पन्न चिन्ता, चासो, नैराश्यतालाई चिर्न केन्द्रीय समितिको वैठक अत्यावश्यक भएको उक्त समूहको ठहर थियो । यद्यपि अध्यक्षको चाहना विपरीतवैठक बोलाउन एक पक्ष तयार छैन । ‘बेला भएको छ्रैन, पर्खिनु पर्छ भन्ने जस्ता बहानाबाजीमा आलटाल गर्ने कार्य भइरहेको छ, ’ एक केन्द्रीय सदस्यले भने ।
प्रतिनिधिसभा चुनावमा १६१ सीट छाडेर चार सीट मात्र लिएकोमा राप्रपा प्रजातान्त्रिक असफल भएको भन्ने आम कार्यकर्ताको ठम्याई छ । यो आक्रोश समाना गर्न एक पक्ष तयार छैन ।






