संशोधन अघि कुनै चुनाव हुन सक्दैन : महन्थ ठाकुर

काठमाडौं– तमलोपा अध्यक्ष महन्थ ठाकुरले संसदमा टेबुल भएको संविधान संशोधन प्रस्ताव पारित नभएसम्म मुलुकमा कुनैपनि चुनाव हुन नसक्ने स्पष्ट पारेका छन् ।

आईतबार काठमाडौमा भएको साक्षात्कारमा नेता ठाकुरले भने,‘संविधान संशोधन प्रस्ताव पारित नभएसम्म चुनाव हुँदैन, पहिला संशोधन प्रस्ताव पारित गर्नुपर्छ, संशोधन प्रस्ताव छलफल गर्दा पारित भए पनि नभएपनि चुनावमा मोर्चा जान्छ भनेर कसैले सोचेको छ भने त्यो सपना दिवा सपना हो ।’ उनले काँग्रेस–माओवादी केन्द्रको गठबन्धनले प्रस्ताव पारित गराउनै पर्ने जिकिर पनि गरे ।

अध्यष ठाकुरले मुलुकमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्तिका लागि अरुले जस्तै आफूहरु पनि सँगै लड्दै आएको उल्लेख गर्दै भने,‘हामी चुनावको विरोधी होईनौं, तर समस्याको समाधान नगरी गरिने कुनैपनि चुनावले देशलाई निकास दिँदैन्, त्यसैले पहिला समस्याको समाधान गर्नुपर्छ ।’

तमलोपाका अध्यक्ष समेत रहेका नेता ठाकुरले संशोधन नगरी गरिने कुनैपनि चुनावमा मधेशी मोर्चाले भाग नलिने बताउँदै यदि सरकारले बलपुर्वक, लाठी र बन्दुक चलाएर चुनाव गर्न खोजे जटिल अवस्था उत्पन्न हुने चेतावनी पनि दिए । उनले भने,‘राजनीतिक समस्याको समाधान राजनीतिक रुपमै गर्नुपर्छ, संवैधानिक समस्याको समाधानपनि संवैधानिक रुपमै गर्नुपर्छ, अहिलेको समस्या पनि राजनीतिक हो, त्यसैले यसको समाधान राजनैतिक रुपमै हुनुपर्छ ।’
सिके राउत पक्राउको पनि ठाकुरले विरोध गरे । उनले भने,‘गिरफ्तारी र हत्या गरेर समस्या समाधान हुँदैन ।’

उनले स्थानीय तह पूर्नसंरचना आयोगले अघि सारेको प्रतिवेदन कुनै हालतमा पनि मान्य बताए ।

ठाकुरले अहिलेको पूर्नसंरचनाको प्रतिवेदन जनसंख्या र भुगोलपनि नमिलेको र जनतालाई सेवा र सुविधा पनि नजिक पुर्याउन नसकिने खालको रहेको टिप्पणी गरे । उनले भने,‘पर्सादेखि सप्तरीसम्मको पूर्नसंरचना गर्दा जनता र त्यहाँका पार्टीहरुसँग छलफल नै गरिएन, काठमाडौंमा बसेर गरियो, बाँकी १२ जिल्लामा पनि आफूखुशी नै प्रतिवेदन तयार पारियो ।’