चन्द्र भण्डारीले फेरि भने, ‘ज्यान गए प्रदेश टुक्र्याउने प्रस्तावमा हस्ताक्षर गर्दिन’

काठमाडौं– कांग्रेस नेता चन्द्र भण्डारीले ज्यान गए प्रदेश टुक्र्याउने प्रस्तावमा हस्ताक्षर नगर्ने अडान लिएका छन् । उनले संविधान संशोधन प्रस्ताव कुनै हालतमा पास हुन नदिने बताए।

प्रेस युनियन रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले देशको हित र नागरिकको चाहनाविपरीत संशोधन प्रस्ताव आएकाले यसलाई विफल पार्ने बताए । संशोधन प्रस्तावमा कांग्रेस नेतृत्वको समर्थन रहे पनि कांग्रेसको नीति वा निर्णय नभएकाले पार्टीले ह्वीप लगाए पनि यसलाई कुनै हालतमा नमान्ने उनको जीकिर छ ।

भण्डारीले संशोधन प्रस्ताव भरसक छलफलमै जान नदिने र गइहाले पनि विपक्षमा उभिने बताए । ‘शेरबहादुर देउवाको ९९ दशमलव ९८ प्रतिशत कुरा र समय मान्छु तर २ सेकेण्ड उहाँको कुरा मान्दिनँ’ उनले भने, ‘त्यतिबेला नागरिक र प्रदेशको हित सम्झने छु र विरोधमा उत्रने छु ।’

संविधान संशोधन गर्दा हुने खतरा नेतृत्व सम्हालेका शेरबहादुर र प्रचण्डले नबुझेको भन्दै उनले बुझाउन आफूसहितका नेता अहिले लागीपरेको र जनमत पनि बढ्दै गएको बताए । ‘तराईका हरुवा नेताहरुलाई उचालेर नेपाललाई अनावश्यक विवादमा फसाउने र कमजोर तुल्याउन खोज्ने दिल्लीलाई जवाफ दिन पनि संशोधन विधेकलाई असफल बनाउने छौं,’ नेता भण्डारीले भने ।

संशोधन विधेयक असफल भने मात्रै तराईमाथिको कुदृष्टि हट्ने र दिल्लीले नेता होइन नेपाली जनतासितको सम्बन्ध बढाउने उनले तर्क गरे । ‘छिमेकीले नेपाली नागरिक राष्ट्रियताका लागि कन्सन्स छन् भन्ने बुझ्नेछन्’ उनले भने, ‘तराई बलियो हुनेछ, सीमा मिचिने छैन, बाढी पस्ने छैन, सुस्तावासीलाई झुटा मुद्दा पनि लाग्ने छैनन् ।’