बेलायतबाट नेपाल जाने चार्टर्ड फ्लाइट मंहगो भएको भन्दै चर्को आलोचना

लण्डन । सरकारले बुधबार २४ जुन र शुक्रबार २६ जुनका दिन बेलायतबाट नेपाल उडान भर्न चार्टर्ड फ्लाइट तय गरेपनि मंहगो भएको भन्दै त्यसको आलोचना भै रहेको छ । नेपाल सरकार संस्कृति तथा पर्यटन मन्त्रालयले छानेको ट्राभल्स एजेन्सीले बेलायतबाट नेपाल जाने एकतर्फी टिकटको ९ सय २० पाउण्ड तोकेपछि सामाजिक संजालमा यहाँका नेपालीहरुले सरकारको चर्को आलोचना गरेका छन ।

अरु बेला करीव ७ सय पाउण्डमा ओहोर-दोहोर गर्न पाउने टिकटको एकतर्फी भाडा नै ९ सय २० पाउण्ड तोकेपछि असन्तुष्टी बाहिर देखिएको हो। संयुक्त अधिराज्य बेलायतस्थित लन्डन दूतावासले महंगो टिकटका बारेमा अनभिज्ञता प्रकट गरेको छ । दूतावासका प्रवक्ता शरदराज आरणले नेपाल सरकार पर्यटन मन्त्रालयबाटै सवै कुराहरु तय भएर आएको बताए । ‘हामीले बेलायतबाट नेपाल फर्किनु पर्ने व्यक्तिहरुको नाम संकलन गरेर पठाउने र यहाँका समस्याका बारेमा बताउने काम गरेको छौं,’ उनले भने, ‘बेलायतबाट नेपाल उडान भर्ने हवाइजहाज र टिकटका बारेमा सवै पर्यटन मन्त्रालयबाटै निर्णय भएको हो ।’

‘नेपालबाट कतार एयरवेज हुदै बेलायत ७ सय पाउण्डै म तीन दिन अघि बेलायत आए,एनआरएनए यूके पूर्वउपमहासचिव विनय अधिकारीले भने, ‘नेपाल सरकारले कोरोना संक्रमणका कारण संकटमा परेका नेपालीलाई यसरी आर्थिक भारमा पार्ने काम गलत भएको छ । प्रतिस्पर्धामा एयरवेज छानिएको भए निकै सस्तोमा टिकट आउथ्यो ।

’ बेलायतबाट नेपाल उडान भर्ने जिम्मा पाएको जजिरा एयरवेजको टिकेटिङको जिम्मा पाएको सोसाइटी इन्टरनेसनल ट्राभल्स सर्भिसेजको आधिकारीक प्रतिनिधि तोकिएका क्याट यूकेका अध्यक्ष जीवन सेनले मंहगो टिकटका बारेमा अनभिज्ञता प्रकट गरे ।’व्यक्तिगत सम्बन्ध मार्फत मैले बेलायतबाट ट्राभल्स एजेन्सीको प्रतिनिधिका रुपमा काम गरेको हु ,धेरै कुरा मलाई थाहा भएन ,’ उनले भने ।

गत साता यहाँस्थित नेपाली दूतावासले २४ जुनमा लण्डन ग्याटविकबाट दिउँसो २:५० बजे नेपाल उडान गर्ने सूचनासहितको विज्ञप्ती दूतावासले जारी गरेको थियो ।जसमा नेपाल जानका लागि भाडादर जनही ९ सय २० पाउण्ड तोकिएको छ । नेपाल सरकारकै निर्णयअनुसार बेलायतबाट नेपाल जान उडान भर्ने पहिलो चार्टर फ्लाइटका १ सय ५८ जना यात्रुहरुलाई र उनीहरुले नेपाल जांदा चाहिने कोरोना संक्रमणको रिपोर्ट लगायतका कागजातका बारेमा जानकारी दूतावासले दिइ सकिएको प्रवक्ता आरणले जनाए ।

२६ जुनमा लण्डन ग्याटविकबाट दिउँसो २:५० बजे दोस्रो उडान भर्न १५८ जना तय भैसकेको दूतावासले जनाएको छ । यसरी नेपाल जान चाहनेहरुले पीसीआर वा आरडिटी परीक्षण काठमाडौँ बाटै गर्न सकिने र नेपाल पुगे पछि सरकारले तोकेको क्वारेन्टीनमा बस्नु पर्ने जनाइएको छ ।