लण्डन । ब्याण्ड नाइट यतिबेला बेलायतका विभिन्न शहरहरुमा आफनो सांगीतिक कार्यक्रम गर्नमा व्यस्त छ ।
मेकिंग ट्रयाक्स नामक बेलायती लाइभ म्युजिक केन्द्रको निमन्त्रणामा नाइट ब्याण्ड बेलायतको सांगीतिक यात्रामा आएको हो ।उसले बेलायतका विभिन्न शहरमा आफ्नो सांगीतिक प्रस्तुति दिइरहेको आयोजक मेकिङ ट्रयाक्सले जनाएको छ ।
ब्याण्डले अहिलेसम्म ब्राइटन, हार्टफोर्डशायर, न्यू क्यासल र बकिंगहाममा आफनो संगीत प्रस्तुत गरिसकेको छ भने यहि साता बिहिबार बर्मिंगहाम, शुक्रबार म्यानचेस्टर, शनिबार क्यामब्रिज र आइतबार लण्डनमा कार्यक्रम गर्दैछ ।
नेपालमा दुर दराजका दुर्गम बस्तीहरुसम्मै पुगेर त्यहां चल्ने परम्परागत संगीतलाई टिपेर ल्याउने काम नाइटले गर्छ । पुराना तथा लोपोन्मुख संगीतमा परम्परागत बाजाहरुको प्रयोगबाट आधुनिक समयअनुसारको प्राण भर्नु नाइटको विशेषता हो ।
बीबीसी रेडियो थ्रीले गत ८ अप्रिलमा ब्याण्डबारे एउटा विशेष कार्यक्रम नै बनाएर प्रसारण गरेको थियो ।यसरी बिबिसीमा कुनै नेपाली सांगीतिक ब्याण्डबारे फिचर नै तयार पारेर देखाइएको यो पहिलोपटक हो ।







