आमरण अनसन बस्नु अघि भूपू गोर्खाहरुको विशेष बैठक

satyagrahaanasan

लण्डन । गोर्खा सत्याग्रह संघर्ष समितिले बेलायतस्थित सम्पुर्ण नेपाली संघसंस्थाका प्रतिनिधीहरु निम्त्याएर यहि अप्रिल १७ तारिख आइतबार आमरण अनसन तयारीबारे छलफल गर्ने भएको छ ।

आफ्ना माग पुरा गराउन २४ अप्रिल २०१६ सम्मको समयसीमा दिएका भूपू गोर्खाहरुले सरकारबाट हालसम्म कुनै ‘रेस्पोन्स’ नआएकाले आमरण अनसन अन्तिम विकल्प भएको जनाउंदै त्यसबारे विस्तृत छलफल गर्न अल्डरसटस्थित किंग्स सेन्टरमा बिहान ११ देखि दिउंसो २ बजेसम्म  छलफल गरेर राय, सल्लाह र समर्थन बटुल्ने कार्यक्रम सत्याग्रहको छ ।

समितिले समस्त भूपू गोर्खा एवं अन्य नेपालीलाई बैठकमा उपस्थित भई सरसल्लाह र सुझाव दिन विनम्र अनुरोध गरेको छ ।

संघसंस्थासंगको छलफलपछि सत्याग्रहले सोहि ठाउंमा नेपालकी सभामुख ओनसरी घर्तीसंग पनि छलफल गर्दैछ । सभामुख घर्ती र मुख्य दलका प्रमुख सचेतकहरुको संसदीय टोलीसंग सत्याग्रहका  मागहरु पूरा गराउन नेपालको सरकार, संसद तथा दलहरुबाट भइरहेका पहलबारे छलफल गरिनेछ ।

आफना मागहरुको चित्तबुझदो सम्बोधन नभए अप्रिल २४ तारिखका दिन सांझ ६ बजे बेलायती प्रधानमन्त्री निवास १० डाउनिंग स्ट्रिटअगाडि सामुहिक रिले अनसन सुरु गर्ने सुरमा सत्याग्रह छ । आन्दोलन निर्देशक ज्ञानराज राईले भने, ‘पहिलो १३ दिन हामी सामुहिक रिले अनसन बस्छौं, त्यो अवधिसम्म पनि हाम्रा मागहरुको सन्तोषजनक सम्बोधन हुन सकेन भने हामी आमरण अनसनमा जान बाध्य हुनेछौं ।’

अप्रिल २४ मा अनसन सुरु हुनुअघि डाउनिंग स्ट्रिटअगाडि विशाल रयाली र विरोधसभा समेत गरिने योजना छ ।