रानीपोखरी पुनःनिर्माणबारे विज्ञ समूहले बुझायो प्रतिवेदन

काठमाडौँ- रानीपोखरीको पुनःनिर्माणका लागि गठिते विज्ञ समूहले आज काठमाडौँ महानगरपालिका प्रमुखलाई प्रतिवेदन बुझाएको छ ।

पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले कामपा प्रमुख विद्यासुन्दर शाक्यलाई बुझाएको प्रतिवेदनमा यसअघि रानीपोखरी मल्लकालीन शैलीमा निर्माण गरिएकाले सोहीअनुरुप नै निर्माण गर्न सुझाव दिइएको छ । यसअघि पुनःनिर्माणका सम्बन्धमा प्रयोग गरिएको कङ्क्रिट नष्ट गरी पुरानै शैलीमा निर्माण गर्नुपर्ने बताउँदै कार्कीले रानीपोखरी, वरपर रहेका पर्खाल र बालगोपालेश्वर मन्दिर पनि पुरानै शैलीमा निर्माण गर्न सकिन्छ भन्नुभयो ।

कामपा प्रमुख शाक्यले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, पुरातत्व विभाग र कामपाका प्रतिनिधि बसेर प्रतिवेदनको अध्ययनपछि मात्र कसरी र कहिलेदेखि निर्माणको काम हुन्छ थाहा हुने बताउनुभयो । पाटन दरबार क्षेत्र, हनुमानढोकालगायत केही ऐतिहासिक स्थानमा प्रवेश शुल्कमार्फत केही रकम लिने गरिएको बताउँदै शाक्यले भन्नुभयो, “रानीपोखरी प्रवेशको लागि केही रकम लिनु कुनै नौलो विषय होइन, यसलाई नै व्यावसायिक भन्नु गलत हो ।”