काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले समयमै स्थानीय तहको निर्वाचन हुने दाबी गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै गजुरेलले भने,‘कसैले भाग लिएपनि नलिएपनि चुनाव हुनुपर्छ, संविधानले नै ०७४ माघ ७ भित्र तीनवटै निकायको निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरेको छ, त्यसैले संविधान कार्यान्वयनको लागि पनि चुनाव समयमै गर्नुपर्छ ।’ उनले चुनाव तोकिएकै मितिभित्र सम्पन्न नभए संविधान नै फेल हुने बताए ।
उनले वर्तमान सरकार नै समयमै चुनाव सम्पन्न गरेर संविधान कार्यान्वयन गर्नको लागि गठन भएको उल्लेख गर्दै भने,‘त्यसैले सरकार तीनवटै निकायको निर्वाचन गराउन पूर्ण प्रतिबद्ध छ ।’
गजुरेलले पूर्नसंरचना आयोगले भनेबमोजिम नै सरकारले चुनाव गर्ने स्पष्ट पारे । यद्धपी उनले आयोगले स्थानीय तहको संख्या र सिमा निर्धारण गर्दा जनसंख्या, भुगोललाई आधार बनाएर जनताको आवश्यकत्ता अनुसार सबै सेवासुविधा प्राप्त हुनेगरि निर्धारण गर्नुपर्नेमा जोड दिए ।
उनले वर्तमान सरकारलाई चुनाव सम्पन्न गर्न अन्र्तराष्ट्रिय सहयोग, सद्भाव र समर्थन समेत रहेको दाबी गरे । उनले अघि थपे,‘प्रधानमन्त्रीको विशेष दुतहरुको भारत र चीन भ्रमणपछि उनीहरुको पनि समर्थन रहनेछ ।’
नेकपा एमालेका सचिव भीम आचार्यले वर्तमान सरकार समयमै निर्वाचन नगराउने षड्यन्त्रमा लागेको आरोप लगाए । उनले भने,‘पूरानै व्यवस्था अनुसार चुनाव हुनुपर्छ भन्ने कुरा संविधानसम्वद्ध छैन, यो चुनाव नगराउने र नहुने षड्यन्त्र मात्रै हो, संविधान कार्यान्वयन गर्नको लागि पनि समयमै चुनाव गर्नुपर्छ, हाम्रो पार्टी यसमा पूर्ण सचेत छ ।’
नेता आचार्यले दलहरुले आयोगलाई सुझाव दिन सक्ने बताउँदै भने,‘आयोगले सरकारले दिएको टिओआर र संविधानले निर्दिष्ट गरेको व्यवस्था अनुसार काम गर्ने हो, दलहरुले संख्या बढाउनुपर्छ भनेर आयोगलाई हस्तक्षेप गर्न खोज्नु, चुनाव हुन नदिने षड्यन्त्र मात्र हो ।’
उनले आफ्नो पार्टीले एक वर्ष पहिले नै पूरानै व्यवस्था अनुसार निर्वाचन गराउँ भन्दा काँग्रेसले नै नयाँ संविधान अनुसार चुनाव गराउनुपर्ने अडान लिएको उल्लेख गर्दै भने,‘अहिले आएर फेरि पूरानै व्यवस्था अनुसार चुनाव गराउनुपर्छ भन्नु निर्वाचन नगर्ने षड्यन्त्र गर्नु हो ।’ उनले अघि थपे,‘अहिले जिल्लाबाट पाईरहेको सेवा सुविधा स्थानीय तहबाट पाउनेगरि संविधानले स्थानीय सरकारको व्यवस्था गरेको छ, सोही बमोजिम स्थानीय तह निर्माण गनुपर्छ ।’






