साउथवेस्ट नेप्लिज कम्युनिटिलाई न्यू साउथ वेल्स सरकारद्धारा एप्रिशियसन अवार्ड सहित सम्मान

तक्दीर अधिकारी

सिड्नी ।अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्य सरकारले साउथवेस्ट नेप्लिज कम्युनिटिलाई सम्मान गरेको छ । साउथन हाइल्याण्डमा गत बर्ष महिनौ सम्म लागेको आगलागीको नियन्त्रण, उद्धार तथा राहत वितरण निरन्तर खटेर लागेको योेगदानको प्रशंसा गर्दै सरकारले एप्रिशियसन अर्वाड सहित सम्मान गरेको होे । कम्युनिटीले बर्गो तर पिक्टनमा रहेका ४ सय अग्नि नियन्त्रक, अग्नि पीडित र स्वयसेवकलाई खाना उपलब्ध गराउने देखी आगलागी प्रभावितहरुलाई राखिएको शिविरमा स्वयंसेवा गरेको थियो ।

संस्थाका अध्यक्ष  देवेन्द्र सापकोेटाले सरकारले गरेको यस प्रकारको सम्मानले कर्मभूमीमा अझै सामुदायिक सेवा गर्नमा प्रेरणा मिलेको बताए । उनले आगामी दिनमा पनि समुदायमा आफुहरुले पुर्याउनु पर्ने दायित्व पनि यसैगरी पूरा गर्ने बताए ।

संकट परेका बेला संलग्न भएर सहयोग गर्न पाएकोमा आफूलगायत साउथ वेस्ट नेपाली कम्युनिटी अभारी रहेको बताउँदै अध्यक्ष सापकोटाले भने, “कुनै पनि कम्युनिटीलाई आवश्यक परेका बेला यस्ता कार्यक्रमहरु लिएर आउन साउथ वेस्ट नेपाली कम्युनिटी तयार छ।” लण्डन नेपाल न्यूज सँगको कुराकानीमा उनले थपे, “यस खालको सम्मान संसदमै बोलाएर दिने कुरा भएको थियो, तर कोभिड १९ को कारण संसद स्थगनमा रहेको कारण अनौपचारिक रुपमा सरकारले अवार्ड दिएको हो।”  राम्रो काम गरेको खण्डमा यसको पहिचान जताततै बन्ने रहेछ भन्ने खालको सन्देश पनि बाहिर गएको उनले सुनाए । स्वच्छ मनले काम गर्नेहो भने त्यसको सकारात्मक मूल्याङ्कन हुने कुरामा दुईमत नरहेको उनकोे भनाई छ ।

संस्थाका महासचिब प्रेम शाहले आफुहरुले न्यू साउथ वेल्सका साउथ हाइल्यान्ड क्षेत्रबाट प्रतिनिधित्व गर्ने माथिल्लो सदनका सांसद लुइस आमाटो र सांसद तथा स्थानीय कार्यदलका सदस्य नाथानिल स्मिथ लगायत सरकार सँग नै सहयाकार्य गरि काम गरेको बताउँदै उनीहरुले सदनमा पनि नेपाली समुदायले गरेको काम जोडदार रुपमा उठाएको जानकारी दिए । यसरी सरकारबाटै सम्मान पाउनु आफुहरुको निम्ती निकै सौभाग्यको कुरा रहेको सुनाए ।

प्रवक्ता सूर्य खनालले उक्त बुशफायरमा कर्म गर्नु फलको आश नगर्नु भने जस्तै विशुद्ध सेवा गर्ने उद्धेश्यले सेवा गरिएको भन्दै उक्त योगदानको सरकारले पनि पहिचान गर्नु खुशीको कुरा भएको बताए । उनले आफ्नो कर्मथलोमा परेको विपत्तीमा नेपालीहरुले योगदान दिने उद्धेश्य काम गरेको सुनाए ।

यस अघि संस्थाले नेपाली समुदायको हक हितमा पनि थुप्रै काम गर्दै आएकोे छ । संकटमा परेका नेपालीलाइ सहयोग देखी जनचेतनामूलक तालिमहरु पनि संस्थाले प्रदान गर्ने गरेको छ।