संविधान संशोधन नभएसम्म मधेशमा चुनाव हुन दिन्नौं : सुमन

काठमाडौं–मधेशी मोर्चाका नेता मनिष सुमनले संविधान संशोधन नगरी चुनाव हुनै नसक्ने ठोकुवा गरेका छन् ।
राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा उनले भने,‘मधेशी, आदिवासी, जनजाति सबैका भावनाहरुलाई समेटेर संविधान संशोधन गरेर संविधानलाई सर्वस्विकार्य बनाउनुपर्छ ।’
नेता सुमनले स्थानीय निकाय पूर्नसंरचना आयोगको काम तत्काल रोक्नुपर्ने माग गरे । उनले अघि थपे,‘पहिला राज्यको पूर्नसंरचना गर्नुपर्छ, सिमांकनको एकिन अवधारणा आउनुपर्छ ।’ यथाअवस्थामा आफूहरु तराईमधेशमा चुनाव हुनै नदिने उनको दाबी थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता एन.पि. साउदले आयोगले सिफारिश गरेबमोजिम ५६५ को संख्याको बारेमा आफ्नो पार्टीले कुनै सहमति नजनाएको स्पष्ट पारे । साउदले आयोगले सिफारिश गरेको संख्या अव्यवहारिक रहेको आरोप लगाउँदै भने,‘यसले पूर्नसंरचना हुनै सक्दैन् ।’

उनले चुनाव गराउनको लागि राजनीतिक सहमति हुनुपर्ने आवश्यकत्ता औंल्याए । साउदले मुलुक अहिले संक्रमणकालिन अवस्थामा रहेको उल्लेख गर्दै विद्यमान गाविसको संख्यालाई आधार मानेर पनि चुनाव गराउन सकिने स्पष्ट पारे । उनले स्थानीय निकायलाई जनप्रतिनिधिविहीन बनाएर राख्नै नहुने धारणा राखे ।