लन्डन पशुपतिनाथ मन्दिरले प्लमस्टिडको एशियन कम्युनिटी हलमा भब्य तिज कार्यक्रम गर्दै

लन्डन । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज साउथ इष्ट लन्डन प्लमस्टिड स्थित पशुपतिनाथ मन्दिरको आयोजनामा आगामी सेप्टेम्बर १८ तारिखमा हुने भएको छ ।

मन्दिर ब्याबस्थापन समितिले तीजकै दिन पारेर प्लमस्टिडको एशियन कम्युनिटी सेन्टरमा पूजाआजा र नाचगान सहित कार्यक्रम गर्न लागेको मन्दिर समितिका नवनिर्वाचित अध्यक्ष गोपाल अर्यालले लण्डन नेपाल न्यूज लाई बताए ।

दिउँसो २ बजे देखि बेलुका करिब ९ बजेसम्म चल्ने कार्यक्रमको शुरुमा व्रतालु महिलाहरुले सामूहिक तीज विशेष पूजा गर्ने मन्दिरका मूल पन्डित निलहरि घिमिरेले लन्डन नेपाल न्युज लाई बताए।

पूजा आजा कार्यक्रमपछि दिनभर तीजविशेष आकर्षक प्रस्तुतिहरुका साथै नाचगानको कार्यक्रम रहनेछ। डिजे हेम विष्टले तीजका विभिन्न भाकाहरु बजाएर महिलाहरुलाई दिनभर नचाउनेछन्।

मन्दिर समितिका उपाध्यक्ष भोज राज कंडेलले कार्यक्रममा प्रमुख अतिथिका रुपमा लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाललाई निम्त्याइएको बताए ।

बेलायतको व्यस्त जीवनलाई थाँती राखेर १ दिन तिज मनाउने धोको फुकाएर नाचगान गर्ने हाम्रो उद्देश्य हो’, कोषाध्यक्ष तारा भट्टराईले लण्डन न्यूज सँग भनिन् ।

सचिव हीराप्रसाद ओझाले सामाजिक परम्परा र संस्कारलाई निरन्तरता दिन सबैमा उपस्थितिका लागि अपिल गरेका छन् 

आयोजकले कार्यक्रममा सहभागी हुन सम्पूर्ण बेलायतवासी नेपाली दाजुभाइलाई आग्रह गरेका छन् ।