काठमाडौं– खानेपानी मन्त्रालयले देशैभर ढल व्यवस्थापन गर्न र पानी बोक्ने ट्याङ्करहरुको अनुगमन गर्न निर्देशिका मस्यौदा समिति गठन गरेको छ ।
खानेपानी मन्त्री बिना मगरको अध्यक्षतामा बसेको बैठकले ढल व्यवस्थापन र ट्याङकर अनुगमन निर्देशिका मस्यौदा समिति गठन गरेको हो । देशैभर ढलको व्यवस्थापन तथा अनुगमन गर्न र ढलको प्रारम्भिक प्रशोधन गरेर मात्र निष्काशन गर्ने व्यवस्था लागु गर्न मस्यौदा समिति बनाउने निर्णय गरिएको खानेपानी मन्त्री विना मगरले जानकारी दिइन् ।
मन्त्रालयले बनाउन लागेको समितिको नाम पानीको स्रोत तथा ट्यांकर व्यवस्थापन निर्देशिका मस्यौदा समिति र फोहोर पानी निष्काशन निर्देशिका मस्यौदा समिति रहेका छन् ।
पानीको स्रोत संरक्षण तथा ट्याङ्कर व्यवस्थापन निर्देशिका मस्यौदा समितिको संयोजकमा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक संजिवविक्रम राणा रहेका छन् । त्यस्तै सदस्यहरुमा रमेश केसी, डेलप्रसाद चापागाई, नारायण खनाल र सुरेश महाजु र फोहोर पानी निष्काशन निर्देशिका मस्यौदा समितिको संयोजकमा सहसचिव अनिलभद्र खनाल, सदस्यहरुमा मिना श्रेष्ठ, संजीव विक्रम राणा, अर्जुन ढकाल, टिकाबहादुर चौधरी र सुरत बम रहेका छन् ।
बैठकमा मन्त्री मगरले कामको गति बढाउन सम्बन्धित विभागीय प्रमुखहरुलाई निर्देशन दिएकी थिइन् ।
खानेपानी मन्त्रीसमक्ष मन्त्रालय मातहतका विभागीय प्रमुखहरुले साप्ताहिक रिपोर्टिङ गर्ने गरेका छन् ।
यसैबीच मन्त्रालय मातहतको टोलीले काठमाडौं उपत्यका लगायत देशका ७४ वटा जिल्लामा ढलको अनुगमन गरेको छ । काठमाडौं उपत्यका बाहेक अन्य जिल्लामा रहेका अस्पतालहरु मध्ये ३८ वटा अस्पताल र ३६ वटा होटलको अनुगमन गरिएको रिपोर्टिङका क्रममा कतिपय अस्पतालमा फोहोर पानी आउने गरेको पाइएको छ ।
बैठकमा मन्त्रालयसँगको समन्वय मार्फत वाटर एडको सहकार्यमा नेपाल खानेपानी संस्थानले सिरहाको लहान नगरपालिका वडा नं. १ देखि १० सम्मको सेवा क्षेत्रमा रहेका गरिब निमुखा जनतालाई खानेपानीको सेवा उपलब्ध गराउन आवश्यक पूर्वाधार निर्माण गर्न लागिएको जानकारी समेत गराईएको थियो ।






