शशांकको स्वास्थ्यमा ‘उल्लेख्य सुधार, मान्छे चिन्न थाले तर खतरा टरेको छैन’

sashanka koiralaकाठमाडौं, असार २३ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएको छ ।

कोइरालाको उपचारमा संलग्न ओम अस्पतालका वरिष्ठ चिकित्सक लव नरसिंह जोशीकाअनुसार कोइरालाको स्वास्थ्यमा सुधार आउनेक्रम जारी छ ।

कोइरालाले मान्छे चिन्ने र बोलाउँदा प्रतिक्रिया जनाउन थालेको डा. जोशीले बताए ।

भेन्टिलेटर नहटाएका कारणमात्र बोल्न नसकेको भन्दै डा. जोशीले कोइरालालाई भेन्टिलेटरबाट बाहिर झिक्ने विषयमा चिकित्सकहरुबीच परामर्श चलिरहेको पनि बताए ।

कोइरालालाई दिइएको अक्सिजन र औषधिको मात्रा पनि घटाइएको चिकित्सकहरुले बताएका छन् ।

यद्यपि, अझैपनि कोइरालाको अवस्था खतरामुक्त भने नरहेको डा. जोशीले बताए ।

पेट र स्वास–प्रश्वासमा असहज भएको भन्दै कोइराला गत मंगलबार राति ओम अस्पतालमा भर्ना भएका थिए ।

बुधबार बिहान अकस्मात् अचेत बनेका कोइरालालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको छ ।