विप्लव माओवादीद्वारा वर्ल्ड भिजनको कार्यालयमा आगजनी

(FOCUS)CHINA-TAIWAN-NEW TAIPEI-PARK FIRE(CN)नुवाकोट- भूकम्पपछिको प्रतिकार्यका लागि नुवाकोट आएको वर्ल्ड भिजन इन्टरनेसनल नेपालको जिल्ला कार्यालयमा गएराति आगजनी भएको छ ।

आगजनीको जिम्मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले लिएको छ ।

गएराति १२:३० बजे तीन जनाको समूहले विदुर नगरपालिका वडा नं ४ बट्टारमा रहेको वर्ल्ड भिजनको कार्यालय परिसरमा रहेको गाडीमा आगो लगाएका थिए ।

प्रत्यक्षदर्शी संस्थाका सुरक्षाकर्मी तुलबहादुर प्याकुरेलका अनुसार गेटपट्टिबाटै भित्र छिरेका तीन जनाले उनलाई धम्याएर गाडीमा आगो लगाई गेट खोलेर भागेका थिए । आफूहरु विप्लव माओवादीको कार्यकर्ता भएको बताउनेहरुले गाडीमा आगो सल्काएपछि हल्ला गरेमा मार्ने धम्की दिएको प्याकुरेलले बताए ।

गाडीमा करिब ४५ मिनेट आगो लागेपछि मात्रै नियन्त्रणमा लिइएको छिमेकी शिवप्रसाद अधिकारीले बताए । बलिरहेको गाडीको आगोको राप घरको तेस्रो तलामा पुगेपछि उनीहरुले पछाडिको भागमा डोरी लगाएर बलिरहेको गाडी गेटबाट बाहिर पुर्‍याएका थिए । त्यसपछि घटनास्थलमा पुगेको दमकलले गाडी र घरमा लागेको आगो नियन्त्रणमा लिएको थियो ।