काठमाडौं- एकीकृत पार्टीमा केपी ओली र प्रचण्ड दुवै अध्यक्षको हैसियतमा रहने निश्चित भइसकेको छ । दुवै अध्यक्षको जिम्मेवारी मिलाउन पहिलो नम्बरको वरीयता परिवर्तन हुने गरी अन्तरिम विधान बनाइएको छ ।
अन्तरिम विधान सम्बन्धी कार्यदलले बैठकको अध्यक्षता गर्ने अध्यक्ष नै पहिलो नम्बरको नेता हुने गरी विधान प्रतिवेदन बनाएको हो । कार्यदलले आफ्नो प्रतिवेदन बुझाइसकेको छ । ‘एकतापछि बन्ने नेपाल कम्युनिस्ट पार्टीमा दुई अध्यक्ष रहने, दुवै अध्यक्षले बैठकको आलोपालो अध्यक्षता गर्ने, बैठकको अध्यक्षता जसले गर्छ, त्यतिबेला उसको वरीयता पहिलो नम्बरमा हुने गरी विधान प्रतिवेदन बनाइएको छ,’ कार्यदलका सदस्य एमाले नेता बेदुराम भुसालले भने, ‘आलोपालो अध्यक्षता हुने भएकाले अघिल्लोपटक पहिलो वरीयतामा रहेको अध्यक्ष पछिल्लोपटक स्वतः दोस्रो वरीयताको मर्यादाक्रममा हुनेछ ।’
एमाले र माओवादी केन्द्रका बैठकहरूमा उपस्थिति पत्रमा सबैले, तर बैठकका निर्णयको अन्तिममा भने अध्यक्षले मात्र हस्ताक्षर गर्ने प्रचलन छ । यो प्रचलन अनुसार एकीकृत पार्टीमा दुई अध्यक्ष मध्ये जसले बैठकको अध्यक्षता गर्छ, उसैले निर्णयको अन्तिममा हस्ताक्षर गर्नेछ । तर आलोपालो अध्यक्षताको विधि र प्रक्रिया के हुने विषयमा भने विधान मौन रहेको स्रोतले जनायो । ‘प्रतिवेदन पार्टी एकता संयोजन समितिबाट अनुमोदन हुन बाँकी छ । त्यसैले यस्ता विषय स्पष्ट हुन पनि सक्छन् । दुई अध्यक्षले समझदारीमा गर्न पनि सक्नुहुन्छ,’ कार्यदलकै अर्का एक सदस्यले भने । पार्टी एकता घोषणा सभा बैठकको अध्यक्षता भने केपी ओलीले गर्ने गरी समझदारी भएको स्रोतले बतायो ।






