काठमाडौँ- आगामी आर्थिक वर्षमा नेपाल लगानीकर्ता शिखर सम्मेलन गरिने भएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज जारी गर्नुभएको आव २०७३÷०७४ को बजेट वक्तव्यमा उक्त कुरा उल्लेख गर्दै नेपाललाई आकर्षक लगानी गन्तव्यका रुपमा विकास गर्न नीतिगत तथा कानुनी सुधार गरिने उल्लेख छ ।
निजी क्षेत्रको प्रवर्द्धन गरी उद्योग विस्तार गर्न विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, कम्पनी ऐन, दामासाही ऐन, खानी ऐनलगायतका उद्योगसम्बन्धी ऐनलाई संशोधन तथा निर्माणका लागि व्यवस्थापिका–संसदमा पेस गर्ने उल्लेख छ ।
यस्तै, कानुन र संरचनात्मक सुधार गरी उद्योग व्यवसाय दर्ता, खारेजी र दायित्व फरक–फरकका सम्पूर्ण प्रक्रियालाई सरल, स्पष्ट र पारदर्शी बनाइनेछ ।
औद्योगिक तथा संरचनात्मक प्रयोजनका लागि आवश्यक जग्गा सहजरुपमा खरिद गर्न पाउने व्यवस्था गर्न हदबन्दीभन्दा बढी जग्गा राख्न छुट दिने आदेश, २०६८ मा संशोधन गरिने उल्लेख छ । वित्तीय सहलगानीसम्बन्धी व्यवस्थामा आवश्यक संशोधन गरिनेछ ।
लगानीको रणनीति र सोच भएका नवप्रवर्तनकारी उद्यमशील युवालाई लगानीको बीउ पुँजी उपलब्ध गराउन रु एक अर्बको च्यालेन्ज फण्ड व्यवस्था गरेको छ । कृषि, वन्यजन्तु र खनिज उद्योगले विशेष उद्योग सरहको आयकर छुट पाउने व्यवस्था गरेको छ ।






