‘चैत्र मसान्तपछि फेरि भीषण अन्दोलन हुन्छ’
काठमाडौं- संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चीनसँग भएको दश बुँदे सम्झौता कुनै नयाँ नभएको टिप्पणी गरेका छन् । सामान्य बिषयलाई आवश्यक्ता भन्दा बढी प्रचार गरी भ्रम सिर्जना गर्नुको तुक नरहेको उनले बताए । ‘ओलीको खुबीसँग प्रभावित भएर चीनले सम्झौता वा सहयोग गरेको होइन’, शुक्रबार राजधानीमा रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै फोरम नेपालका अध्यक्ष यादवले भने, ‘चीनले गर्न सक्ने सहयोग धेरै छन्, त्यो लिन सक्ने सरकारसँग न त्यत्रो भाँडो छ, न त त्यसको सदुपयोग गर्न सक्ने क्षमता । सरकारले फुर्ति नदेखाए हुन्छ ।’
नेपालको संविधानलाई चीनले स्वागत गर्यो नि भन्ने प्रश्नमा यादवले भने, ‘त्रुटिपूर्ण संविधानप्रति असन्तुष्ट रहेका बृहत् जनताले संविधानको स्वामित्व ग्रहण नगर्दासम्म, संविधानलाई नस्वीकार्दासम्म कसैले स्वागत गर्दैमा हामीलाई कुनै फरक पर्दैन ।’ विभेदकारी संविधान नसच्चिएसम्म नेपालमा स्थिरता कायम हुन नसक्ने उनले बताए । ‘सरकारले जे गरेपनि, जसलाई गुहारे पनि असन्तुष्ट जनताको माग सम्बोधन हुने गरी संविधानको पुनर्लेखन नहुँदासम्म समाधान सम्भव छैन’- यादवले भने ।
ओली सरकारले कालो बजारियालाई मुलुक सुम्पेको अध्यक्ष यादवले आरोप लगाएका छन् । कालो बजारियाले चलाएको सरकारसँग जनताको कुनै आशा र अपेक्षा नरहेको उनले जिकिर गरे । ‘नाका अवरोध हटेको महिनौं भइसक्यो । तर पनि बजारमा सामानको हाहाकार छ । जनताको दैनिक अति आवश्यक बस्तुको आपूर्ति गर्न सरकार विफल भइसक्यो,’ कालो बजारियाको कमिशनमा सरकार चुर्लुम्म डुबेको यादवको आरोप छ ।
अध्यक्ष यादवले पछिल्लो मधेस आन्दोलनले शासक वर्गको ढाड भाँचिसकेको जिकिर गर्दै चैत्र मसान्तपछि उठ्ने आन्दोलनको आँधीबेरीले विभेदको जरा उखेलेर फाल्ने चेतावनी दिए । मधेसी, जनजाति र थारु लगायत बहुसंख्यक जनताले अस्वीकार गरिसकेको संविधान कार्यान्वयन हुनै नसक्ने अध्यक्ष यादवले ठोकुवा गरेका गरे । ‘माग सम्बोधनका लागि हामीले चैत्र मसान्तसम्म सरकारलाई अल्टिमेटम दिएका छौं, त्यो नभए चैत्र मसान्तपछि हिमाल पहाड र मधेसबाट एकसाथ आन्दोलनको विगुल फुक्दै छौं । सरकारका लागि वार्ता र संवादमार्फत् समाधान गर्न चैत्र मसान्तसम्म मौका छ,’ यादवले भने ।






