काठमाडौं – नेपाल आयल निगमले ग्यासमा स्वचालित मूल्य प्रणाली लागू गर्ने तयारी गरेको छ । विगतमा ग्यासमा ठूलो घाटा सहेर बेचेको निगमले अहिले नाफा–घाटा बराबर भएको मौका छोपी उक्त प्रणाली प्रयोगमा ल्याउने अन्तिम तयारी गरेको हो ।
डेढ वर्षअघि डिजेल, पेट्रोल र मट्टीतेलमा स्वचालित प्रणाली सुरु गरेको निगमले भारतीय नाकाबन्दीको बाहनामा दुई महिनादेखि प्रयोगमा ल्याएको छैन । भारतबाट आपूर्ति सहज भएपछि डिजेल, पेट्रोल र मट्टीतेलमा निरन्तरता दिँदै ग्यासमा समेत लागू गर्ने निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए ।






