![]()
काठमाडौं , २७ असोज । पार्टीको संस्थागत जीवन लत्याएर एकांकी ढंगले अघि बढेको भन्दै नवनिर्वाचित प्रधानमन्त्री केपी ओलीको पार्टीमा चर्को आलोचना हुन थालेको छ। पार्टीमा कुनै छलफल नै नगरी धमाधम मन्त्री नियुक्ति गर्ने र अन्य दलसँग सम्झौता गरेको भन्दै एमाले अध्यक्षको आलोचना भएको हो।
पार्टीको अब बस्ने स्थायी समितिमा उपमहासचिव घनश्याम भुसाल लगाएका नेताले ‘पार्टी पद्दति मिचिएको’ मुद्धा उठाउने भएका छन्। ‘मन्त्रीमण्डलमा भाग भन्डा र नियुक्ति पार्टीमा कुनै निर्णय नै नगरी धमाधम गरिंदैछ कुन आधारमा गरिंदै छ पार्टीमा छलफल हुनु पर्दैन?’ भुसालले सेतोपाटीसँग कुरा गर्दै भने ‘पार्टीको संस्थागत जीवन मिचेर कुनै व्यक्तिको महत्वाकांक्षा पुरा गर्ने काम हामीलाई स्वीकार्य हुँदैन।’
पार्टीका शीर्षनेताले प्रक्रिया मिच्दै आआफ्ना निकट व्यक्तिलाई मन्त्री बनाउने र मन्त्रीमा सिफारिस गरेको भन्दै भुसाल आक्रोशित बनेका छन्। ‘मेरो कुनै पदमा दाबी होइन। तर पार्टी भनेको व्यक्ति होइन। पार्टीले पद्धति अँगाल्नु पर्छ,’ उनले भने।
पार्टीका नियम र पद्धति नमानेर सुशील कोइराला नेतृत्वको नेपाली कांग्रेस र प्रचण्ड नेतृत्वको एमाओवादीको पतन हुँदै गएको तर्क गर्दै भुसालले भने ‘अबको बैठकमा यस्तो प्रवृति विरुद्ध अवाज उठ्छ।
अन्य दलसँग गरेका सम्झौता बारे पनि पार्टीमा कुनै छलफल नभएको भुसालको भनाइ छ। ‘तीन दलीय गठबन्धन तोड्ने भारतको उद्धेश्य थियो र तोडियो। अब जोड्ने हाम्रो काम हो,’ उनले भने ‘नेपाली कांग्रेससँग सहकार्य कसरी गर्ने भनें बारे अब पार्टीमा छलफल हुनु पर्छ।’
अहिले भएका पछिल्ला घटनाक्रम बारे पार्टीको बैठक बसेको छैन। भुसालका अनुसार अहिलेको गठबन्धन कमजोर छ र भारतले कुनै पनि बेला खेल्न र तोड्न सक्छ। ‘अबको बैठकमा यसबारे पनि छलफल हुनु पर्छ,’ उनले भने।






