
काठमाडौं- ६ दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री केपी ओली शुक्रबार भारत भ्रमणमा गएका छन् ।
प्रधानमन्त्री दिउँसो ३ बजे नेपाल एयरलाइन्सको नियमति जहाजबाट दिल्ली गएका हुन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा ओली भारत भ्रमणमा गएका हुन् । दुई देशबीचको चिसोपन कम गराउन भ्रमणमा जान लागेको प्रधानमन्त्री ओलीले बताएका छन् ।
नेपालमा संविधान जारी भएपछि नेपाल र भारतबीच तिक्ततापूर्ण सम्बन्ध भएको थियो । तराईमा आन्दोलनरत मधेसी मोर्चालाई अगाडि सारेर भारतले नेपालमाथि नाकाबन्दी गरेपछि दुई देशबीचको सम्बन्ध झनै चिसिएको थियो ।
प्रधानमन्त्री केपी ओलीले भारत डोको बोकेर माग्न जान नलागेको भन्दै अहिलेको भ्रमण एजेन्डाविहीन भएको बताए । ओलीले भारत भ्रमणका क्रममा कुनै पनि विवादास्पद सम्झौता वा काम नगर्ने बताए ।






