काठमाडौँ- नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा आज रातिदेखि लागू हुनेगरी प्रतिलिटर रु ५५ घटाएको छ ।
निगम सञ्चालक समितिको बैठकले आन्तरिक उडानतर्फ रु १६४.८८ रहेको हवाई इन्धनको मूल्य अब रु १०९ मा झारेको छ ।
तराई मधेसमा जारी आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण इन्धन आयातमा समस्या भएपछि सरकारले निजी क्षेत्रको पेट्रोलिमेक्स र नेपाल वायु सेवा निगममार्फत ढुवानी गरी नाकाबन्दीको समयमा हवाई इन्धन महँगोमा खरिद र महँगोमा बिक्री गर्दै आएको थियो ।
नाकाबन्दीको समयमा आयल निगमले रु १६४.८८ प्रतिलिटरमा बिक्री गर्दै आएको हवाई इन्धन आज आयल निगम व्यवस्थापनले आज राति १२ बजेदेखि लागु हुने गरी रु १०९ कायम गरेको निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिनुभयो ।
निगमका अनुसार भोलिदेखि अन्तर्राष्ट्रिय उडानलाईसमेत निगमले इन्धन उपलब्ध गराउनेछ । यसअघि नाकाबन्दीका समयमा निगमले अन्तर्राष्ट्रिय उडानलाई इन्धन उपलब्ध गराएको थिएन ।






