नेपालीकै खर्चमा बन्ने भयो धरहरा, प्रधानमन्त्री र मन्त्रीहरुले दिए एक महिनाको तलब

pm dharaharaकाठमाडौं- वैशाख १२ गतेको महाभूकम्पले भत्किएको धरहरा नेपालीकै खर्चमा बन्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पका कारण पूर्णरुपमा क्षति भएको धरहराको निर्माण जनताकै लगानीमा गर्ने घोषणा गरे । उनीसहित सरकारका सबै मन्त्रीले एक महिनाको तलब धरहरा निर्माणमा दिएका छन् ।

प्रधानमन्त्रीले कुनै वैदेशिक लगानी र सरकारी खर्चमा नभई जनताको खर्चमा नै धरहराको निर्माण गर्ने घोषणा गरे ।।

‘धरहरा कुनै सरकारी कार्यालय होइन, नेपालको गौरव, ऐतिहासिक धरोहर हो, त्यहाँ नेपालीपन झल्किएको छ, म बनाउँछु, हामी बनाउँछौँ भन्ने सङ्कल्प गरौँ,レ प्रधानमन्त्रीले भने । नेपालका ऐतिहासिक सम्पदा, अदालतलगायत खास ठाउँ नेपालीले आफ्नै खर्चमा बनाउँदा आफ्नोपनको महसुस हुने प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले हजारौँ वर्षका लागि हुने बलियो, जस्ताको तस्तै तथा आधुनिक ठूलो धरहरा बनाउनेसमेत उदघोष गरे । अहिले धरहरा घुम्न आउँदा पार्किङको ठाउँ नभएकाले नवनिर्माण गर्दा तीन तला पार्किङ निर्माण गरी माथि अहिलेको भन्दा ठूलो धरहरा निर्माण गरिने जानकारी दिए ।

त्यस्तै, धरहरा निर्माण गर्दा स्मारकको रुपमा गत वैशाख १२ गतेको भूकम्पमा परी दिवङ्गत भएका सबैको नाम लेख्नेसमेत प्रधानमन्त्री ओलीले बताए । दिवङ्गत व्यक्तिहरुको स्मरणस्वरुप वैशाख १२ वा २९ मा स्मृति दिवससमेत मनाउने तयारी रहेको उनले बताए ।