चितवन, १८ असोज । त्रिशूली नदीमा असोज– ९ गतेदेखि बेपत्ता भएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे र उनका भाइका खोजीका लागि कैलालीबाट झिकाइएको गोताखोर सफलता नमिलेपछि फर्किएको छ ।
सशस्त्र प्रहरी र नेपाली सेनाका गोताखोर असफल भएपछि कैलालीबाट गोताखोर झिकाइएको थियो । पाँच जनाको समूहले दुई दिनसम्म खोजीकार्य जारी राखे पनि घटनास्थल आसपासका क्षेत्रमा गाडी र मानिस नभेटेपछि फर्किएको हो ।
कुरिनटारस्थित सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम केन्द्रका प्रहरी उपरीक्षक गणेशबहादुर थापाकाअनुसार गोताखोरले गाडी खसेको ठाउँको २५ मिटर आसपासका क्षेत्रमा नदीको भूइँसम्म कुनै पनि वस्तु र मानिस नभेटेपछि फर्किएको हो । उहाँका अनुसार त्यसको पश्चिमपट्टी भने पानीको उच्च बहाव भएकाले गोताखोर जान असफल भएको थियो । गोताखोरले नदीका तल्लो फेदबाट बालुवासमेत निकालेर देखाएको उनले बताए ।
सो समूह ठूला नदीमा पुल बनाउँदा पानीभित्र पसेर पिल्लर ठड्याउने व्यावसायिक समूह हो । एक पटकमा पाँच मिनेटसम्म पानीभित्र पसेर खोज्न सक्षम गोताखोरको रुपमा उक्त समूहलाई चिनिन्छ ।
यसअघि पोखराबाट झिकाइएको तीन जना गोताखोरले पनि दुई दिनसम्म नदीमा खोजी गरे पनि उपलब्धि नभएपछि फर्किएको थियो ।






