काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी नेपाली कांग्रेस नेतृत्वको सरकार ढाल्ने पक्षमा नरहेको बताउनुभएको छ । सिंहदरबारमा शुक्रकारको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टी एकता इतिहास र राष्ट्रिय दायित्व पूरा गर्नका लागि भएको बताउनुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, ‘हामीले एमालेसँग पार्टी एकता र चुनावी तालमेलको निर्णय गरेका छौँ, यो हाम्रो नेपालमा एउटै कम्युनिस्ट केन्द्र बनाउने अभियान हो । यसले सरकारलाई कुनै असर गर्दैन, हामी सरकार ढालेर निर्वाचन प्रभावित गर्न चाहँदैनौँ । तर, प्रधानमन्त्री र नेपाली काँग्रेसले सरकार छोड्नुपर्छ भने हामी छोड्न तयार छौँ । हाम्रो एकमात्र चाहना तोकिएकै मितिमा चुनाव होस् भन्ने हो ।’
संसदीय दलका नेतासमेत रहनुभएका अध्यक्ष दाहालले एमाले, नयाँ शक्तिसँग एकताको सैद्धान्तिक सहमति भए पनि वैचारिक विषयमा एकरुपता कायम गर्न बाँकी रहेको बताउनुभयो । बैठकमा केही सांसदले भने सैद्धान्तिक विषयमा एकरुपता कायम नगरीकन एमालेसँग एकता नै गरी हाल्नुपर्नाको कारणबारे अध्यक्ष दाहालसँग प्रश्न गरेका थिए । हतारमा गरिएको एकताले कतै आगामी दिनमा समस्या त खडा गर्ने होइन, माओवादीको पहिचान गुम्ने त होइन भन्दै उनीहरुले प्रश्न गरेका थिए ।
त्यसको जवाफमा अध्यक्ष दाहालले शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण गर्ने लक्ष्यका साथ एकतामा सहमति भएकाले कुनै पनि दुविधा नराख्न आग्रह गर्नुभयो ।






