लन्डन । मगर संघ युकेको च्यारिटीबाट ३० हजार पाउण्ड करिब नेरु ४८ लाख उठेको छ ।
गत ३० सेप्टेम्बर २०२३ का दिन मगर संघ युकेले गरेको एकै च्यारिटी कार्यक्रम मार्फत करिब नेरु ४८ लाख (३० हजार पाउण्ड) उठेको हो ।
मगर संघ युकेको आफ्नै भवन रहेको छ र सो भवनलाई अझ वि सुबिधा सम्पन्न बिस्तार गर्ने उद्देश्यले आयोजना गरिएको च्यारिटी कार्यक्रममा सो रकम उठेको च्यारिटी कार्यक्रमका संयोजक एवं मगर संघका उपाध्यक्ष रुद्र थापामगरले लण्डन नेपाल न्यूज लाई बताए ।
कार्यक्रममा प्रमुख अतिथि विश्व किर्तिमानी आरोही हरि बुढामगर र बिशेष अतिथि गैर आवासिय नेपाली संघ युकेका अध्यक्ष प्रेम गाह मगरले सम्बोधन गरेका थिए ।
कार्यक्रममा नेपालबाट आएका कलाकारहरु शिला आले, देवी घर्ति, नबिन आले मगर, सपना रोकाले विभिन्न गीतसंगीतका प्रस्तुत गरेका थिए।
च्यारिटी कार्यक्रममा कानुनको बारेमा, स्वास्थ्यको बारेमा पनि प्रिजेन्टेशन गरिएको थियो ।
नेपालमा जनसंख्याको हिसाबमा तेस्रो ठूलो जनसंख्या (७.१) भएको मगर जातिको जनसंख्या युकेमा पनि नेपालीहरु मध्ये सबैभन्दा धेरै भएको मानिन्छ । हरेक क्षेत्रमा प्रगतिउन्मुख मगरहरु राजनीतिको क्षेत्रमा भने संकटउन्मुख देखिन्छ । मगरहरुको घना बसोबार रहेको इलाकालाई ३ प्रदेशमा विभाजन संगै मगरहरुको निर्णायक तहको पहूच क्रमशः घटदो छ तर मगर संघले चेतनामुलक कार्यक्रम गर्ने गरेको छैन ।
मगर संघ युकेकी अध्यक्ष सिता पुनको अध्यक्षतामा सम्पन्न च्यारिटी कार्यक्रमलाई महासचिव गुमान सिं थापा मगरले संचालन गरेका थिए ।






