प्यूठानका नेता पूर्वराज्यमन्त्री केसीको निधन

Giri-Bahadur-KC-Pyuthanप्यूठान- पूर्वराज्यमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य गिरिबहादुर केसीको ७८ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको छ ।

विस १९९४ माघ १५ गते प्यूठानको मरन्ठानामा जन्मनुभएका केसीको न्यूरो अस्पताल बाँसबारी काठमाडौँमा उपचारका क्रममा निधन भएको उहाँका भतिजा बाचुन केसीले जानकारी दिनुभयो ।

मंगलबार बिहान ७:२५ मिनेटमा केसीको निधन भएको हो । वामपन्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गर्नुभएका केसी विसं २०२८ पछि मात्रै पञ्चायतमा लाग्नुभएको थियो । तत्कालीन अवस्थामा नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले प्यूठानमा सुरु गर्नुभएको किसान आन्दोलनको प्रभावले राजनीतिक यात्रा सुरु गर्नुभएका केसीले पञ्चायत हुँदै राष्ट्रिय प्रजातन्त्र पार्टीमा रही आफ्नो राजनीतिक यात्रालाई थप अगाडि बढाउनुभएको थियो ।