इलाम- नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच देखिएको तिक्तता मेटिएर जाने बताएका छन्।
प्रेस चौतारी इलामले आइतबार बिहान इलाममा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेम्वाङले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणले नेपाल र भारतबीच देखिएको असमझदारी, तिक्तता र अविश्वास अन्त्य भएर जाने विश्वास व्यक्त गरे।
‘प्रधानमन्त्रीको भारत भ्रमणका बेला कस्ता–कस्ता एजेन्डा प्रस्तुत गर्ने भन्ने संसद्मा छलफल हुने भएको छ, नेता नेम्वाङले भने, ‘भ्रमणले देशको सर्वोपरी हित र समृद्धि चाहेको छ।’
नाकाबन्दी हटेर अहिले मुलुक सहजतातर्फ उन्मुख भइरहेको बताउँदै उनले भूकम्प आयो गयो, नाकाबन्दी आयो गयो तर त्योसँग जुध्न हामी सकेनौँ, अब त्यस्ता अप्ठारासँग जुध्ने गरी तयार हुनुपर्नेमा जोड दिए।
संविधानमा चित्त नबुझेमा संशोधन गर्दै जानुपनेृ भन्दै उनले भारतले पनि १२२ पटक संविधान संशोधन गरेको बताए। संसद्को बैठकले हालै १९० वटा कानुन संशोधनमार्फत निर्माण गरिएको बताउँदै उनले असन्तुष्टिलाई संशोधनमार्फत अघि बढाइने बताए। रासस






