काठमाडौँ- दक्षिण एसियाली खेलकुद (साग)को सेमिफाइनलमा नवयुग श्रेष्ठको ह्याट्रिकको मद्दतले नेपाल माल्दिभ्सलाई ४-३ ले पराजित गर्दै स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्न छनौट भएको छ।
मध्यान्तरसम्म नेपालले माल्दिभ्समाथि २-० को अग्रता लिए पनि ९० मिनेटको निर्धारित खेल बराबरी गर्न माल्दिभ्स सफल रह्यो। भारतमा भइरहेको सागमा शनिबार राति भएको खेलको १५ औँ मिनेटमा अन्जन विष्टले गोल गरी खाता खोलेका थिए। ३६ औँ मिनेटमा नवयुग श्रेष्ठले गोल गरी अग्रता दोब्बर पारे।
५२ औँ मिनेटमा मोहम्मद हाम्जाले माल्दिभ्सका लागि गोल गरी नेपालको अग्रतालाई खुम्च्याए। ६५ औँ मिनेटमा कमल श्रेष्ठले दोस्रो पहेँलो कार्ड पाएपछि मैदान छाड्नु पर्यो। नेपाल १० खेलाडीमा सीमित भएको फाइदा उठाउँदै माल्दिभ्सले ८५ औँ मिनेटमा गोल थप्यो। अहमद नासिदको गोलले खेल बराबरीमा पुग्यो। खेल एक्स्ट्रा टाइममा धकेलियो। पहिलो १५ मिनेटमा कसैले गोल गर्न भने सकेन।
११५ औँ मिनेट हसन नइजले गोल गरी माल्दिभ्सलाई ३-२ को अग्रता दिलाउँदा नेपाली फ्यानहरु निराश भइसकेका थिए। तर युवा खेलाडीले भरिएको नेपाली टिम हार मान्नेवाला थिएन। माल्दिभ्सलाई बंगलादेशको बंगबन्धु कपमा हराइसकेको नेपाल फेरि जुर्मुरायो।
बंगबन्धुमा माल्दिभ्सविरुद्ध ह्याट्रिक गरेका नवयुग फेरि चम्किए। दुई मिनेटभित्र दुई गोल गर्दै नेपाल विजयी भयो। पहिलो गोल नवयुगले १२० औँ मिनेटमा गरे। इन्जुरी टाइमको अन्तिम मिनेटमा थप एक गोल उनैले गरे र नेपाललाई विजयी बनाए।






