लण्डन ।
आम नेपालीकै जस्तो यूके टेक्ने सपना मेरो पनि थियो । कहिल्यै सूर्य नअस्ताउने देश, एक जमाना विश्वभर साम्राज्य जमाएको शक्तिशाली देश भनेर मैले कतै पढेको थिएं । भाग्यवश सन् २००९, नोभेम्बरमा बेलायत टेक्ने सौभाग्य मिल्यो टियर फोर स्टेटसमा । हिथ्रो ओर्लने बित्तिकै रेल, राता बस, सफा सुग्घर बाटो, मिलेर बनेका उस्तै उस्तै लाग्ने घर, सपिंग सेन्टर आदि इत्यादि देखेर लाग्यो म स्वर्ग आइपुगेको छु ।
यूके टेक्ने बित्तिकै कमाइन्छ, यहां त रुखमा पाउण्ड फल्छ भन्ने किस्सा पनि बेला बेला सुनेको थिएं । तर, शुरुमै पाउण्ड टिप्न त त्यस्तै थियो । बरु, उच्च शिक्षाको बहानामा आएको म कलेज नगइ सुख थिएन । दुई कोठाको कलेज, इन्रोलमेन्ट एकातिर कोर्स र अध्ययन अर्कोतिर । भिजा जोगाउन हाजिर जरुरी थियो । सहपाठीहरु गोरो अनुहारका नभेटिएपनि छिमेकी राष्ट र नेपालकै भएकाले दिन रमाइलोमै बित्दै थियो ।
अध्ययन मेरो भित्री रोजाइमा थिएन । गरिव मुलुकबाट आएको म जागिर बिना यहां बांच्न सम्भव नभएकाले कामको खोजीमा भौंतारिरहेको थिएं । एकदिन कामकै लागि नेपाली व्यवसायीले चलाइरहेको एउटा रेष्टुरेन्टमा गएको, काम पाएं सानोतिनो । नेपाल छंदा चिया पकाउन पनि उस्तो नजान्ने मलाई शुरुमा रेष्टुरेन्टको काम त्यति सहज थिएन । विस्तारै गर्दा आत्मविश्वास बढ्दै थियो । शुरुमा मलाई लागेको थियो महिला भएपछि यहां त केही सम्मान हुन्छ । बेलायत बस्ने नेपाली त सभ्य र शिक्षित हुन्छन् भन्ने सोचेको मैले वास्तविकतामा त्यस्तो पटक्कै पाइन । आफूलाई समाजसेवी भन्न रुचाउने ति नेपाली व्यवसायीको क्रियाकलापले मलाई शुरुमै खिस्रिक्क बनायो । जुस भनेर ह्वीस्की मिसाइ ख्वाउन खोज्ने, रेष्टुरेन्ट सपिंग भनेर अन्तै कतै बस्न जाउं भन्ने र बेल्ट र ब्याच लगाइदिने बहानामा संवेदनशील अंग छुन खोज्ने उनको हर्कतले मलाई ज्यादै निरास र आक्रोश दुबै बनायो । मलाई नेपाल भन्दा पनि असुरक्षित अनुभूति भयो लन्डनमा । जागिर अगाडि बढ्न सकेन ।
यो त एउटा उदाहरण मात्र हो । म जस्ता धेरै विद्यार्थीले कामको खोजीमा श्रम र शारिरीक शोषण खेप्नु परेको सुन्नमा आउंछ । वर्क परमिट पाउने प्रलोभनमा धेरै महिलाले शारिरीक र आर्थिक शोषणको सास्ती खेप्नु परेको छ ।
मैले यूकेबाट धेरै कुरा सिकें । अविष्मरणीय क्षणहरु बिताएको छु । धेरै साथीभाई बने । तर, यो संगै तीता अनुभव पनि स्मृतिमा कैद भएको छ । बेलायतमा नेपाली महिलालाई यदि असुरक्षा छ भने त्यो नेपालीबाटै छ । त्यो पनि केही पैसा कमाएका समाजसेवी भनिने व्यक्तिबाटै ।
अलिक वर्ष अघि अध्ययनका नाममा नेपाली कलेज सञ्चालकले नै शोषण गरे । रेष्टुरेन्टमा प्रति घण्टा दुई पाउण्डमा काम लगाए । अहिले वर्क परमिटको लोभमा १५, १७ हजार पाउण्डसम्म डुबाएका उदाहरण प्रशस्तै छन् । पिआर बनाउने नाममा नक्कली बिहे, नक्कली ब्वाइफ्रेण्ड बनाएर घरबार बिगार्नेको संख्या पनि बढ्दै गएको छ । कामको चापले पारिवारिक विचलन अरु बढेको सुनिन्छ ।
वास्तवमा यूके लाइफ ज्यादै तनावयुक्त छ । अझ विद्यार्थी र वर्क परमिट भिजा हुनेका लागि । साथमा वर्क परमिट भिजा छ तर रोजगारदाताबाट तलव आउंदैन् । कर आफैंले तिरेर भिजा थमाउन पनि धौ धौ छ भन्छन् साथीहरु । कतिपयको त लाइसेन्स गएर फेरि अर्को खोज्दा टेन्सन माथि टेन्सन थपिएको छ । कन्सल्टेन्सीको दोकान खोलेर बसेका नेपालीले पनि ठगेको ठग्यै छन् । नेपालतिर कलेज बरालिंदा बरालिंदै यूके भिजा लागेर यता हानिएका ति एजेन्टले के बुझ्ने र गतिलो कलेज विश्वविद्यालय खोजिदिने ? उनीहरुसंग नन रिफण्ड पोलिसी छ जसले गर्दा कलेज भर्र्ना भएको महिनादिनभित्रै कलेजको लाइसेन्स उडेपनि पैसा फिर्ता गर्न जांगर देखाउंदैनन् ति ।
यहीं पाइन्छ बेलायती राहदानी बनाइदिने र युरोपतिर पठाइदिने नाममा ठग्ने एजेन्टहरु । उनीहरु कतिलाई लरीमा लुकाएर युरोपको कुनै दुर शहर पुर्याउंछन्, कतिपयलाई बीच बाटोमै छाडेर भागेको व्यथा पनि नेपालीसंग छ ।
बेलायत समस्या नै समस्याका चांगले भरिएको शहर ठान्छु म । यहांको महंगी अचाक्ली छ । नेपाल बस्ने साथीहरुले सजिलै आइफोन मगाइदिन्छन्, उनीहरुलाई म्याकबुक प्रो ल्यापटप चाहिन्छ । तर, यहां त्यति महंगा डिभाइस चलाउने हिम्मत आफैंसंग नरहेको कमैले बुझ्छन् ।
बेलायतले सिकाएको एउटा महत्वपूर्ण कुरा चाहिं कडा परिश्रम गर्न हो । यहां कामलाई ठूलो सानो, राम्रो नराम्रो भनिन्न । म्यानेजरले पनि मोप लगाउंछ, कनिष्ठ स्टाफले पनि त्यही काम गर्छ । यहांबाट सिकिने अर्को कुरा हो अनुशासन । धन्यवाद र सरी शब्दले धेरै अर्थ राख्छ । ल एण्ड अर्डर भएको यो मुलुकमा कानुन माथि कोही छैन् । कसैले भौतिक आक्रमण गर्ने हिम्मत गर्दैन । कानुनी परिधि नाघेर कसैले केही गर्न नसक्ने भएकाले बेलायत आफैंमा नियन्त्रित छ । यहां लिखित संविधान छैन् तर कानुनी राज्य र प्रजातान्त्रिक मुलुकमा विश्वमै प्रसिद्ध छ यो ।







