- सम्वृद्धि ज्ञवाली
मेरो जन्म विवाह पञ्चमीकै दिन भएको थियो र स्वभावतः हिन्दू परम्पराको सिको गर्दै पण्डितले मेरो नाम जानकी राखिदिनु भयो । मेरा हजुरबाले जनकपुरमा धेरै वर्षसम्म काम गर्नुभयो र मेरा बुबाले पनि जनकपुरबाटै आफ्नो करिअर सुरु गर्नु भयो । आज उहाँ जे हुनुहुन्छ त्यो बन्नमा धेरथोर त्यो ठाउँको पनि योगदान छ । आफ्ना पितालाई आदर्श बनाएकी एउटी छोरीका निम्ति जनकपुरलाई प्रेम गर्न यो यो भन्दा बढी अरू कुनै कारण चाहिन्न ।
यो देशका अन्य महिला झैं म पनि देशले राष्ट्र प्रमुखमा महिला पाउँदा असाध्यै खुशी थिएँ । मैंले राष्ट्रपतिबारे थोरै अध्ययन पनि गरेँ र विश्वस्त भएँ– उहाँ त्यो पदका लागि योग्य हुनुहुन्छ । यसका साथै उहाँले रक्षामन्त्री हुँदा जसरी काम गर्नु भयो त्यसले पनि मलाई प्रभावित गरेको थियो । आफ्नो कार्यकालको कार्यसम्पादन शैलीले उहाँलाई सक्षम नेताको रुपमा सबैले मानेका र माया गरेका थिए ।
यस्ता राष्ट्रप्रमुखलाई जनकपुरमा अपमान गरेको खबरले सबैलाई रिस उठ्यो । तुरुन्तै उहाँलाई अपमान गर्नेहरूप्रति घृणाको लहर सञ्चार भयो । राष्ट्रपतिको अपमानमा सबैले आफ्नी आमाको अपमान भएको ठाने । तर सोही अवसरमा प्रधानमन्त्री केपी ओलीबाट राष्ट्रप्रमुख माथिको घटना ‘निन्दनीय र अमानवीय’ भन्ने टिप्पणीले त्यो रिस थोरै भए पनि मथ्थर भयो । प्रधानमन्त्रीले विषयमाथि छानबिन गर्न देखाएको अग्रसरता प्रशंसनीय थियो । त्यसपछि चलेका वादविवाद भने कुनै पनि गणतान्त्रिक मुलुकका लागि शोभनीय थिएनन् । तर यही समयमा मेरो मनमा थुप्रै प्रश्न पनि जन्मिए । एकातिर सरकारले तत्कालै राष्ट्रपति माथिको व्यहारमा प्रतिक्रिया जनाएको थियो । तर चार महिनादेखि तराईमा चलिरहेको नाकाबन्दीका कारण दुव्र्यवहार खपिरहेका लाखौं महिलाबारे केही बोलेको थिएन । त्यस्तै मौनता भूकम्प पीडितका बारेमा पनि थियो । अनि त्यही भूकम्पका कारण जोखिममा परेका बालबालिकाबारे सरकार पूरै मौन छ । नेपाललाई समुन्नत बनाउने सपना देखिरहेका युवाहरुका तुहिँदै गरेका सपनाबारे कसले बोलिदिने । अनि नेपालमा लगानी गरेर विचल्लीमा परेका लगानीकर्ताको आवाज कसले सुनाइदिने ?
राम जानकी विवाह अवसरमा राष्ट्रपति विद्या भण्डारीको जानकी मन्दिर भ्रमणबारे थुप्रै चर्चा भइसकेका छन् । यो विवादमा मौनता साँध्न मैंले सक्दो प्रयास गरे पनि सकिनँ ।
सञ्चारमाध्यम, सर्वसाधारण र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले भूकम्प पीडितले भोग्नु परेको दुर्दशाबारे लेखिरहेका छन् । तर सरकारले उनीहरूका पीडा अनभूत गर्न सकेको छैन । पीडितलाई दुई लाख दिने निर्णय गरे पनि अहिलेसम्म त्यो पैसा पीडितसम्म पुर्याउन सकेको छैन । देशको अर्थतन्त्र धराशायी हुनेक्रम जारी छ । राष्ट्रबैंकको पछिल्लो तथ्यांक अनुसार मुद्रास्फिती दर दोहोरो संख्यामा बढेर १०.४ प्रतिशत पुगेको छ ।
समाजमा देखिएका विकृति बुझ्न कुनै ‘रकेट साइन्स’ पढिरहन जरुरी छैन । शिक्षाको अभाव धेरै विकृतिको जड हो भन्ने घाम झैं छर्लङग छ । विधवाले जानकी मन्दिर टेकेर अपवित्र बनाएको भन्दै गरिएको त्यहाँको सफाइले परम्पराको गलत व्याख्याका निम्ति शिक्षाको आवश्यकतालाई औंल्याउँछ । वर्तमान समस्याका कारण युनिसेफले हजारौं बालबालिकाको भविष्य संकटमा परेको तथ्यांक कसैको कानसम्म पुगेको छैन । काठमाडौं बाहेक करिब ८० प्रतिशत विद्यालय भूकम्पपछि राम्ररी खुल्न सकेका छैनन् । वर्तमान राष्ट्रपतिले महिला र बालिका शिक्षाका बारेमा चासो राख्नु भएको छ र हामीलाई आशा छ उहाँको चाख पूर्व राष्ट्रपति रामवरण यादवको ‘चुरे जंगल’ माथिको चासोजस्तै चासोमै सिमित हुनेछैन ।
राष्ट्रपतिमाथि गरिएको दुव्र्यवहारको राष्ट्रिय महिला आयोगले खण्डन गरेको देखेर मलाई खुशी लागेको छ । तर राष्ट्रप्रमुखमाथि भएको यस्तो व्यवहारप्रति बौद्विक जमातको मौनता आश्चर्यलाग्दो छ । जब तपाईं राष्ट्रप्रमुख हुनुहुन्छ त्यहाँ तपाईं महिला वा पुरुष हुनुहुन्न । यो घटनालाई हामी महिलामाथि भएको दुव्र्यवहारको रुपमा व्याख्या गर्न सक्छौं । तर सँगसँगै यसलाई निरन्तरको नाकाबन्दीका कारण मानिसहरुमा उब्जिएको आक्रोशको रुपमा पनि बुझ्न सक्छौं । कारण जेसुकै होस् फेरि फेरि हुन सक्ने यस्ता घटनाबाट निस्कने एउटै उपाय छ– शिक्षा । नेपालमा शिक्षा सुविधाको सामान जस्तै भएको छ । हामी दिनहुँ कुराकानी गर्दा हजारौं पटक थाईल्याण्ड र सिंगापुरको सफलताका कुरा गर्छौं तर व्यवहारमा एक सुका पनि लागू गर्दैनौं । सिंगापुरमा विकास योजनाको मुटुको रुपमा शिक्षा रहेको छ । उसको नारा नै छ, ‘देशको बनाउन लागि तिनलाई बनाउनु पर्छ जसले देश बनाउँछन् ।’
त्यसैगरी थाइल्याण्डका चारवटा मुख्य विकास योजना (२००७–२०११)ले नागरिकमा गुण र ज्ञानलाई स्थापित गर्न जोड दिएका छन् । त्यसैले राष्ट्रपतिले महिला र बालिकाले शिक्षाको अवसर पाउनुपर्छ भनेर चासो राख्दा मात्र केही फरक पर्दैन । सिंगापुरको शिक्षा मुख्यतया दुईटा कुराले निर्देशित छ, बलियो राजनीतिक प्रतिबद्वता र सरकारको बहुआयामिक दृष्टि । यसले मात्र जवाफदेहितालाई प्रश्रय दिन्छ । यिनै पक्षलाई हाम्रो राजनीतिक पद्धतिमा पनि समाहित गर्न जरुरी छ । यसो हुन सक्यो भने मात्र हामी समाजमा रहेका विसंगतिलाई उखेलेर फ्याँक्न सक्छौं ।






