शहीदका धनी हामी …

नरदेव
नरदेव
नरदेव

धनका गरिव तर मनका धनी हामी । प्राकृतिक स्रोतमा त त्यसै पनि धनी । हिमाल पर्वतदेखि जलस्रोतसम्म कहलिएका छौंं । हुँदाहुदै पछिल्लो चरणमा आएर संंसारलाई उछिन्ने गरी धनी भइरहेका छौ शहीदको संख्यामा पनि ।

फेरि एक लट शहीद घोषणा गर्ने तयारीमा छ सरकार । शहीद शब्द आफैमा अत्यन्त संवेदनशिल र सम्मानित हो । नेपाली बृहत शव्दकोषका अनुसार आफनो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तीका निम्ति बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्ति शहीद हुन् । ज्ञात अज्ञात सवै शहीद हाम्रा प्रेरणाका स्रोत हुन् र हुनुपर्दछ ।

देशका लागि लड्नेहरु, जनताका लागि भीड्नेहरु, अरुका लागि आफूलाई वलिदान दिने ती व्यक्तिहरुलाई कसरी विर्सनु हामीले । तर समय सधैं एकनास हुदो रहेनछ ।

अहिले हरेक चीज फेरिदो छ । व्यवस्था फेरिएको छ । शासक फेरिएको छ । सोच, विचार, शैली अर्कै छ । तलका माथि पुगे माथिका तल । उथलपुथल छ । त्यसैले क्रममा शव्दकोषका पुराना परिभाषालाई बुढ्यौ लाग्न थाल्यो । तिनका दिन जान थाले ।

हाम्रो सरकार लट लटमा शहीदको घोषणा गर्छ । कुनै लटमा सयौं त कुनै लटमा हजारौं शहीद घोषणा गरेको छ । जे कुरा पनि धेरै भयो भने महत्व गुम्छ भन्छन् । एकैचोटी हजारौ शहीद अनि कसरी सम्भिmने ती नामहरु नेपाली जनताले । को कसरी किन शहीद भए त्यहाँसम्म पुग्न त टाढाकै कुरा । तर पनि गाँइगुइँ सुनिन्छ- कोही मरेर शदि भए, कोही मारेर शहीद भए । कोही लडेर, किचेर, मिचेर, पहिरोले थिचेर, खोलाले वगाएर शहीद भए रे । यस्तै यस्तै के के… धेरै थोक सुनियो । अझै सुनिदै छ नयाँ नयाँ खबर । समय कुर्नु पर्छ जे पनि देखिन्छ भन्थे पाकाहरुले । त्यस्तै लाग्न थालेको छ ।

यस्तो देख्नु पर्यो- सरकारी कार्यालयमा आगो झोस्दाझोस्दै शहीद, एम्बुुलेन्स र यात्रु बसमा ढुँगा हानेर भाग्दा भाग्दै शहीद । मुहान थुनेर जनताको गाँस लुट्दा लुट्दै शहीद । थरीथरीका शहीद ।

कुरा प्रष्ट छ- शहीद शव्दको सम्मान गरौं । मर्यादित बनाऔं । त्यस्तो सम्भावना नभएको होइन । कसरी गर्ने प्रश्न आउला । सवभन्दा राम्रो त हरेक आन्दोलन र घटनाहरुमा शहीद घोषणा गर्ने परिपाटी बन्द गर्ने । त्यो सकिन्न भने शहीदको बर्गीकरण पो गर्ने हो कि । त्यसो गर्दा एकथरी शहीदलाई न्याय होला ।

कोही देशका लागि, विदेशका लागि, क्षेत्रका लागि, गाउँका लागि, टोलका लागि शहीद भए होलान् । त्यसरी नै वर्गीकरण गर्दा पनि होला । सीमा वारी बसेर लड्ने राष्ट्रिय शहीद, पारी बसेेर लड्ने अराष्ट्रिय शहिद, क्षेत्रका लागि लड्ने क्षेत्रीय शहीद, राजमार्गमा लड्ने सडक शहीद, गाउँले शहीद, टोले शहीद …यस्तै यस्तै मिल्दो शब्दहरु विचार गर्नु पर्ला ।

नत्र पार्टीका जोड्वलले भएका शहीदहरुलाई पार्टीकरण गरिदिए पनि हुन्छ । जस्तो माओवादी शहीद, कांग्रेस शहीद, एमाले शहीद, फोरम नेपाल शहीद, फोरम लोकतानित्रक शहीद, गणतान्त्रिक शहीद, सद्भावना शहीद वा मधेसी मोर्चा …यस्तै यस्तै । अहिले देशभन्दा पार्टी ठूलो अनि पार्टीभन्दा जाति ठूलो भएको अवस्थामा जातकै नाममा छुट्याइदिए पनि भयो- मगर शहीद, गुरुङ शहीद, राई शहिद, लिम्बू शहीद, आदिवासी शहीद, जनजाती शहीद, मुस्लीम शहीद, मधेसी शहीद, महिला शहीद, बाहुन-क्षेत्री, दलित, पीछडिएका शहीद…..।

त्यसो भयो भने बरु आ-आफ्नो पार्टीका शहीदको नाम सम्भिmन सजिलो हुन्छ । अनि चासो पनि हुन्छ । पार्टी-पर्टीका कार्याकर्ताले आÏना पार्टीका शहीदबारे पढ्दा हुन् बुझ्दा हुन् । भाषण गर्दा पनि उनीहरुका नाम उच्चारण गर्दा हुन् । उनीहरुबाट प्रेरणा लिदा हुन् । पार्टीहरुले आÏना स्मारिकामा छाप्दाहुन् । किताबमा राख्दा हुन् । पार्टीर् कार्यालायमा फोटो टाँस्दा हुन् ।

त्यसैगरी जातजातीले पनि आ-आफ्नो जातको गुनगाथा गाउन जातीय शहीदका नामहरु कण्ठ पार्दा हुन् । आ-आफ्नो समुदायमा चर्चा गर्दा हुन् । मान-सम्मान महसुस गर्दा हुन् । यो तरीकाले पो इज्जत बढ्ला शहीदका । यसो भयो अहिले जस्तो बेखवर भएर बस्न पर्दैनथ्यो शहिदले । यतातिर किन नसोच्ने ?

फेरि आउँदैछन् रे शहीदको नामावली अर्को लटमा । सरकारले लामै सूचि पाइसकेको छ घोषणा गर्नका लागि । कस्ता कस्ता आउने हुन् । हेरौला । फेरि लेखौला । जे होस् हामी धनी चाहिं हुने छौ । संंसारमै शहीदका धनी ।