नेपाली रग्बी टोली भारत प्रस्थान

ओलम्पिकअन्तर्गत रग्बी खेलको पहिलो छनोट चरणमा भाग लिन १६ सदस्यीय नेपाली टोली आज भारतको चेन्नाइतर्फ प्रस्थान गरेको छ । यही फागुन २३ र २४ गते हुने उक्त प्रतियोगिताबाट नेपालले औपचारिक रुपमा पहिलो अन्तर्राष्ट्रिय रग्बी प्रतियोगितामा सहभागिता जनाउन लागेको हो । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य मनबहादुर न्यौपाने र नेपाल रग्बी सङ्घका अध्यक्ष टङ्कलाल घिसिङले सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो ।
प्रतियोगितामा १२ खेलाडी, दुई प्रशिक्षक तथा एक एक व्यवस्थापक र स्वास्थ्यकर्मी छन् । खेलाडीमा नवीन घिमिरे (कप्तान), रवीन भुजेल (उपकप्तान), विराट श्रेष्ठ, कृष्ण क्षेत्री, कृष्णप्रसाद धमला, आभाष घर्ती मगर, श्रीराम श्रेष्ठ, थमन भुसाल, विराट ऐडी, सन्जित ढुङ्गाना, उज्ज्वल बडाल र निर्मल लामा छन् । त्यस्तै प्रशिक्षकमा गोविन्द घिमिरे र हरिबहादुर तामाङ तथा व्यवस्थापकमा टङ्कराज गिरी छन् । प्रतियोगितामा नेपालले भारत ‘ए’, बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।