बेलायतका मुख्य शहर बत्तिले झकिझकाउ (भिडियो सहित)

शिव भण्डारी

लन्डन– यतिखेर क्रिसमसमय भएको छ लन्डन । इसाइ धर्मावलम्बीहरुको महान पर्व क्रिसमसका अवसरमा बेलायतका मुख्य शहर विभिन्न रंगका बत्तिले झकिझकाउ छन् भने व्यापारिक प्रतिष्ठान र घर घरमा क्रिसमस ट्री सजाइएको छ ।

सपिङ्ग मलहरुमा ग्राहकको घुइंचो झन् बढेको छ । ग्रिटिंग कार्डहरु किन्नेको भिड त्यस्तै छ । हरेक २५ डिसेम्बरका दिन क्रिश्चियन समुदायले क्रिसमस मनाउने प्रचलन छ । बेलायतमा पनि मान्यजन भेटघाटका साथै उपहार आदानप्रदान, हाउस पार्टी, टर्की तथा खानाका परिकार र मिठाइ बांडेर तथा विभिन्न धार्मिक र मनोरञ्जनात्मक कार्यक्रम गरेर क्रिसमस मनाउने तयारी भइरहेको छ ।

क्रिसमस मुख्य आकर्षण भनेको सान्टा क्लज हुन् । क्रिसमसमा रातो टोपी लगाएका अनि सेतो दाह्री, जुङ्गा भएको मोटोघाटो ठूलो शरिरको साधुले सबैलाई उपहार दिने र खुशी बांड्नेछन् भन्ने जनविश्वास रहिआएको छ ।

क्रिसमस इभदेखि अंग्रेजी नयां वर्षसम्म लामो विदा लिएर मानिसहरु होलिडे मुडमा छन् । यो बेला सबै अफिस बन्द हुनेछन् भने क्रिसमसको दिन त सार्वजनिक सवारी साधन शतप्रतिशत ठप्प हुन्छ ।

लन्डनका नेपालीमा पनि क्रिसमस

रमझम क्रिसमसका अवसरमा बेलायतस्थित नेपाली संघसंस्थाले पनि विभिन्न कार्यक्रम गरेका छन् । व्यक्तिगत तथा संस्थागत रुपमा विभिन्न कार्यक्रम गरि क्रिसमस मनाउने क्रम जारी छ ।

गत शुक्रबार एभरेष्ट ल सोलिसिटर्स र ए स्टार फाइनान्स सोलुसन्स यूके तथा एसएनपीले क्रिसमस शुभकामना आदानप्रदान कार्यक्रम गरे । अन्य कार्यक्रम पनि गर्ने तयारी छ ।(भिडियो सहित)