![nepali-Congress-flag_20110409091641[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2015/07/nepali-Congress-flag_201104090916411.jpg)
काठमाडौं- कांग्रेसले सिमांकन हेरफेर गर्न असहमति जनाएको छ ।
प्रमुख प्रतिपक्ष कांग्रेसले तराई, मधेस र पहाडलाई अलग्याउने गरी संघीय प्रदेशको सीमांकन परिवर्तन गर्न नहुने निर्णय लिएको हो । सरकार र आन्दोलनरत मधेसी मोर्चाबीच वार्ता हुनुअघि कांग्रेस पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।
संविधान निर्माणमा सहकार्य गरेका दलबीच छलफल नगरी सत्ता गठबन्धनका केही नेताले सीमांकन परिवर्तनको एजेन्डा ल्याएकामा कांग्रेसले असन्तुष्टि जनाएको छ । सोही कारण निर्णायक भनिएको बुधबारको वार्तामा उक्त पार्टी सहभागी भएन ।
सत्ता गठबन्धनका तर्फबाट भने वार्तामा सहभागी हुन आमन्त्रण गरिएको थियो । प्रवक्ता दिलेन्द्र बडुले पार्टीका शीर्ष नेतासँग छलफलै नभएको विषयमा कांग्रेस सकारात्मक छ भनी प्रचारबाजी गरिएको बताउँदै आपत्ति जनाए ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले तराई र पहाडका जिल्ला छुट्टयाएर सीमांकन हेरफेर गर्ने अनौपचारिक प्रस्ताव छलफलमा ल्याएका थिए ।






