![]()
काठमाण्डौ २६ असोज ।मधेसवादी नेताहरुले तराईमा जारी आन्दोलनमा भारत र भारतीय जनताको प्रत्यक्ष समर्थन रहेको स्वीकार गरेका छन्।
संविधान निर्माण प्रक्रिया र अन्तरवस्तुसँग असन्तुष्ट बनेको भारतले मधेस आन्दोलनलाई अप्रत्यक्ष रुपमा सहयोग पुर्याएको र चर्काएको टिकाटिप्पणी भइरहेका बेला मधेसवादी नेताहरुले भारतीय सहयोग रहेको विषयलाई स्वम् पुष्टि गरेका हुन्।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मंगलबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा मधेस आन्दोलनको नेतृत्व गरेका तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आन्दोलनमा भारतीय सहयोग रहेको खुलासा गरेका हुन्।
पत्रकार सम्मेलनमा नेताहरुले प्रधानमन्त्रीको निर्वाचनमा सहभागी भएर सत्तालिप्सा देखाएको भन्ने आरोपको खण्डन गरे।
संसदीय अभ्यासलाई सधै समर्थन गर्दे आएको र अपवित्र ढंगले सरकारको गठबन्धन भएकाले त्यस विरुद्ध मतदान गरेको उनीहरुको भनाइ छ। संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले उग्रमधेश विरोधी, उग्रवामपन्थी र राजतन्त्रवादी शक्तिको गठबन्धनले मुलुकलाई प्रतिगमनतर्फ लैजाने खतरा भएको त्यस विरुद्ध मतदान गरेको बताए।
हिन्दु धर्मावलम्बीको महान् चाड दशैंलाई मध्यनजर गर्दे मधेसवादी दलले आन्दोलन खुकुलो पार्ने चर्चा चलिरहेका बेला नेताहरुले भने त्यस्तो सम्भावना नरहेको स्पष्ट पारे। उनीहरुले जारी संविधान प्रतिगमनकारी भएकाले विराध जारी राख्ने बताए।
मधेसमा जारी आन्दोलन र सवाल सम्बोधन नगरी सत्ता खेलमा लागेको भन्दै स्थानीय कार्यकर्ताद्वारा चर्को आलोचना भएपछि मोर्चाले राजधानीमा पत्रकार सम्मेलन गरी आन्दोलनबारे धारणा सार्वजनिक गरेको हो।






