शिव भण्डारी, लन्डन। नेपाल रन यूकेको आयोजनामा आगामी नोभेम्बर १ तारिख आइतबार हुने पाँचौँ संस्करणको ‘एइएसएन नर्थहोल्ट १० के रन’ को तयारी तीव्र पारिएको छ। प्रतियोगितामा नेपालका चर्चित धावक एवं ओलम्पियन हरि रोकायासहित करिब ६ सय जनाको सहभागिता रहने भएको छ।
बुधबार साँझ लन्डनमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले नर्थहोल्टस्थित नर्थला फिल्ड्स पार्कमा हुने प्रतियोगिताका लागि भर्चुअलसहित ६ सय जनाले नाम दर्ता गराइसकेको जानकारी दिए। प्रतियोगिताका लागि नाम दर्ता प्रक्रिया बन्द भइसकेको छ।
यस संस्करणमा बालबालिकाका लागि दुई किलोमिटर दौडसमेत समावेश गरिएको छ। प्रतियोगिताले बालबालिका तथा युवालाई सानैदेखि खेलकुदतर्फ आकर्षित गर्ने आयोजकको विश्वास छ।
पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगिताको तयारी, स्वास्थ्य सुरक्षा, व्यवस्थापन तथा समुदायमा पार्ने सकारात्मक प्रभावबारे जानकारी गराएका थिए।
कार्यक्रममा स्वागत मन्तव्य दिँदै नेपाल रन यूकेका सचिव डा. जगन कार्कीले नेपाल रन यूके ‘यूके एथलेटिक्स’ मा दर्ता भएको र विदेशमा रहेका नेपालीहरूले सञ्चालन गरेको एक विशिष्ट दौड क्लबका रूपमा स्थापित भएको बताए।
उनले संस्थाले नेपाली समुदायलाई एकताबद्ध गर्दै शारीरिक व्यायाम र स्वस्थ जीवनशैलीप्रति सचेतना अभिवृद्धि गर्नुका साथै विभिन्न परोपकारी गतिविधिसमेत सञ्चालन गर्दै आएको उल्लेख गरे।
नेपाल रन यूकेका संस्थापक सन्तोष राईले प्रतियोगिता केवल दौडमा सीमित नभई समुदायलाई सक्रिय र स्वस्थ बनाउन प्रोत्साहित गर्ने अभियान भएको बताए।
सहभागीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै चिकित्सक तथा नर्सको व्यवस्था गरिएको र आवश्यक स्वास्थ्य सेवाको तयारीसमेत पूरा भएको उनले जानकारी दिए। दौडपछि स्पोर्ट्स मसाजका लागि फिजियोथेरापी सेवा तथा नेपाली खानाका स्टलसमेत रहने राईले बताए।
संस्थापक राईले प्रतियोगिताका विजेता धावकलाई नेपाल रन यूकेको सातै प्रदेशमा आयोजना गर्ने आगामी ‘७७७ म्याराथन’, अन्नपूर्ण वा एभरेस्ट म्याराथनमा समेत सहभागी गराउने विषयमा छलफल भइरहेको जानकारी दिए।
उनले बिहान १०:१५ बजे दौड सुरु हुने जानकारी दिँदै प्रतियोगिताका नियम, कार पार्किङ, इन्सुरेन्सलगायतका विषयमा समेत प्रस्ट पारेका थिए।
स्वास्थ्य सचेतना, सामुदायिक एकता र नेपाली खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुँदै आएको नर्थहोल्ट १० के रनले बेलायतस्थित नेपाली समुदायमा दौड संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
पहिलोपटक लन्डन आइपुगेका ओलम्पियन हरि रोकायाको अनुभव
पत्रकार सम्मेलनमा नेपालका चर्चित धावक एवं प्रशिक्षक ओलम्पियन हरि रोकायाले आफ्नो खेल जीवनका अनुभव सुनाउँदै युवापुस्तालाई दौड तथा खेलकुदमा अघि बढाउनुपर्नेमा जोड दिए।
जुम्लामा जन्मिएका ६६ वर्षीय रोकायाले २७ वर्षसम्म दौडमा सक्रिय रहेपछि पहिलोपटक लन्डन आउने अवसर पाएको भन्दै नेपाल रन यूकेप्रति आभार व्यक्त गरे।
सन् २०१८ मा स्थापना भएको नेपाल रन यूकेको अभियानले आफूजस्ता खेलाडीलाई अन्तर्राष्ट्रिय समुदायसँग जोड्ने अवसर प्रदान गरेको उनले बताए।
रोकाया एभरेस्ट म्याराथनमा ह्याट्रिक गर्दै विश्व कीर्तिमान कायम गरी गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाउन सफल धावक हुन्।
हाल जुम्लामा २२ जना युवालाई प्रशिक्षण दिइरहेको उल्लेख गर्दै उनले खेलकुद विकास तथा हाइ अल्टिच्युड प्रशिक्षणका लागि आवश्यक पूर्वाधार निर्माणमा नेपाल रन यूकेले पुर्याएको सहयोगप्रति कृतज्ञता व्यक्त गरे।
नेपाल रन यूकेका संस्थापक सदस्य पाण्डव महतोले यसपटक अघिल्ला संस्करणको तुलनामा बढी धावकले नाम दर्ता गराएको र प्रतियोगिता थप विशेष हुने बताए।
प्रतियोगितालाई सुरक्षित र व्यवस्थित बनाउन प्राथमिक उपचार तथा स्वास्थ्य र सुरक्षा मापदण्डमा विशेष ध्यान दिइएको उनले जानकारी दिए।
सन् २०१८ मा सुरु भएको दौड तथा स्वास्थ्य जागरणको अवधारणा अहिले विस्तार हुँदै समुदायमा प्रभावकारी अभियानका रूपमा स्थापित भएको उनको भनाइ थियो।
विभिन्न संघसंस्था तथा व्यवसायीको सहयोग
नेपाल रन यूकेका कोषाध्यक्ष रविन्द्र अधिकारीले प्रतियोगितालाई विभिन्न संघसंस्था तथा व्यवसायीले सहयोग गरेको जानकारी दिँदै सम्पूर्ण प्रायोजकप्रति आभार व्यक्त गरे।
प्रतियोगिताका प्रायोजक तथा सहयोगीहरूमा एइएसएन (मुख्य प्रायोजक), रियल ड्रिम्स, एनबीसी यूके, एनआरएनए इंग्ल्याण्ड राज्य समन्वय परिषद्, किरात राई यायोक्खा लन्डन, नेपाली साइकलिङ क्लब, बुद्ध मोर्गेज, एसएनपी अकाउन्टिङ, तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, सरोज फिजियो (अफिसियल फिजियोथेरापी पार्टनर), एकुरिष्ट अकाउन्टिङ र मेक्सवर्थ अकाउन्टिङलगायत रहेका छन्।
पत्रकार सम्मेलनमा एइएसएन रिक्रुटमेन्ट एजेन्सीकी दीपिका निरौलाले आफ्नो संस्थाले सञ्चालन गर्दै आएका गतिविधिबारे जानकारी दिँदै नेपाल रन यूकेको उद्देश्यमा साथ दिन पाउँदा गर्व लागेको बताइन्।
सो अवसरमा एनआरएनए इंग्ल्याण्ड राज्य समन्वय परिषद्का उपाध्यक्ष सुमन प्रधानसहित नेपाल रन यूकेका पदाधिकारी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो।






