काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपालमा जुनसुकै पार्टीले सरकार बनाए पनि ‘एक चीन नीति’ प्रति नेपाल र नेपाली जनता प्रतिबद्ध रहेको बताउनुभएको छ ।
चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्डसँग बेइजिङमा भएको चिनियाँ उपप्रधानमन्त्री वाङ् याङ, इन्टरनेसनल लेइजन विभागका प्रमुख सङ ताओले गर्नुभएको छुट्टाछुट्टै शिष्टाचार भेटमा दुई देशको सम्बन्ध प्रगाढ भएको विचार व्यक्त गर्नुभएको हो ।
नेपाल र चीनबीचको सम्बन्ध सदियौँदेखिको भौगोलिक तथा सांस्कृतिक रुपमा दरिलो रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले चीनले नेपाललाई स्वच्छ हृदयले गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभएको उहाँका प्रेस सल्लाहकार गोविन्द आचार्यले राससलाई जानकारी दिनुभयो ।
नेपालमा लामो राजनीतिक सङ्क्रमणपछि स्थायित्व र समृद्धिको बाटोमा अगाडि बढेको उल्लेख गर्दै उहाँले चिनियाँ रेल ल्हासाबाट काठमाडौँ हुँदै लुम्बिनी पुगेको नेपाली जनताले हेर्न चाहेको बताउनुभएको थियो ।






